मेचीनगर, २० चैत । मेचीनगर–७ स्थित मदनबस्तीमा भएको एक दिवसीय निःशुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा जाँच गराएका छन् ।
आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको शिविरमा सो संख्यामा आँखा जाँच गराएका हुन् ।
मेची नेत्रालय काँकरभिट्टाले शिविरमा विशेषज्ञसहितको प्राविधिक सहयोग गरेको थियो । शिविरमा जँचाएका १९ जनामा मोतियाबिन्दु समस्या देखिएको थियो ।
उनीहरुलाई आराध्य साकोसको समन्वयमा एक हप्ताभित्र नेत्रालयले शल्यक्रिया गरिदिने भएको संस्थाका व्यवस्थापक दुलप मेचेले बताए ।
शिविरमा हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल काठमाडौंले २०० जनालाई जाँचको आधारमा निःशुल्क चस्मा वितरण गरेको थियो । स्थानीय सावित्रा मेडिकल हलले शिविरमा उपस्थित सबैको ब्लड प्रेसर लगायतको स्वास्थ्य जाँच गरेको थियो ।
आराध्य साकोसकी अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा भएको शिविरको उद्घाटन वडा नम्बर ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले गरेका थिए ।
संस्थाका उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुंगेल, लेखा समिति संयोजक नारायण दंगाल लगायत स्थानीय टोल विकास समितिका अध्यक्ष लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य अनुप मेचेले गरेका थिए ।
Discussion about this post