।। अर्जुन कार्की ।।
भद्रपुर, १९ बैशाख । भद्रपुर वडा नम्बर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले चन्द्रगढीको ‘महेन्द्र पार्क’ लाई विदेशी पार्कको रुपमा विकास गर्ने बताएका छन् ।
चालू आर्थिक वर्ष २०७९÷०८० मा भद्रपुर नगरपालिकाको वडा नं. ८ ले महेन्द्र पार्कको पुनःनिर्माण र जिर्णोद्धारका लागि १० लाख बजेट बिनियोजन गरेको वडाध्यक्ष सुब्बाले बताए ।
राजनीतिक विवादभन्दा माथि उठेर सार्वजनिक स्थलहरुको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका आधारमा वडा कार्यालयले पार्कलाई सौन्दर्यकरण गर्ने काम गरिरहेको उनको भनाई छ ।
‘यो वर्ष १० लाख बजेट छुट्यायौं,’ वडाध्यक्ष सुब्बाले भने–‘आउँदो आर्थिक वर्षमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई राम्रो पर्यटकीय स्थल बनाउने हाम्रो योजना छ ।’
पार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी भद्रपुर नगरपालिकाले लिएको बताउँदै उनले अब कुनै हालतमा पार्कलाई वेवारिसे बन्न नदिइने दावी गरे । वडाध्यक्ष सुब्बाले आफ्नो बुबाको स्मृतिमा पार्कको विकासका लागि २ लाख खर्च गरेको बताइएको छ ।
वडाको बजेटले हाल पार्कको वरिपरिको पर्खाल र भौतिक संरचनाहरुको रंगरोगन गरिएको छ । कलात्मक मूल प्रवेशद्वार, शालिक राखिएको पुरानो स्तम्भ, पानीको फोहोरा रहेको नहर, बिजुलीका खम्बा लगायतका भौतिक संरचना नयाँ रंगले सजाइएका छन् ।
भद्रपुर–८ स्थित चन्द्रगढीको मुटुमा नै रहेको एक बिगाहा दुई कठ्ठा १० धुर जग्गामा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या दिनहुँ बढ्न थालेको छ ।
वि.सं. २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क रुपमा विकसित थियो । तर, राजनीतिक द्वन्द्वको कारण २०६२÷०६३ को जनान्दोलन सम्मको अवधिमा पार्क रमणीय स्थल विस्तारै वेवारिसे बन्न पुग्यो । वर्षौसम्म पार्कको ढोका नै खोलिएको थिएन ।
पार्कभित्र मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुली लगायतका खेल सामग्रीहरु राख्ने काम धमाधम भइरहेको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फुलबारीमा नयाँ फुल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ ।
वर्षौँदेखि पार्कको हेरचाहमा रहेका कर्मचारी मोहन तिवारीको केहि महिनाअघि मृत्यु भएपछि उनकी श्रमती मोतुमाया तिवारीले गत असोजदेखि पार्कको रेखदेख गरिरहेकी छन् । उनलाई नगरपालिकाले तलव दिने गरेको छ ।
भद्रपुरका समाजसेवी धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति नै गठन भएको छ । समितिले नियमित रुपमा पार्कको जिर्णोद्धार कार्य अघि बढाइरहेको छ । रंगरोगन गर्ने, बगैचामा माटो भर्ने लगायतका काम गर्न गत चैत १४ गतेदेखि समितिले पार्कमा ज्यालादारी रुपमा केहि मजदुरहरु खटाएको छ । मजदुरको हाजिरा उपभोक्ता समितिले व्यहोर्दै आएको छ ।
पार्कका माली अमृत थापाले अब चाँडै महेन्द्र पार्कले काँचुली फेर्ने दावी गरे । संयुक्त अरब इमिरेट्सको प्रसिद्ध बगैंचामा मालीको काम गरिसकेका थापाले फुलका विरुवा कहाँ कसरी रोप्ने र हुर्किएका बोन्साई, धुपी, सल्लो लगायतका बोटका हाँगाबिगा कसरी छिमलेर सौन्दर्य बढाउने भनेर दिनभर काममा खटिएका छन् ।
बिर्तामोडको होटल किङ्गस् बेरी, मेचीनगरको होटल मेची क्राउन लगायतको सौन्दर्यकरण उनै माली थापाले गरेका हुन् ।
Discussion about this post