झापा, १९ बैशाख । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ ।
यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट भए ।
आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६÷९ बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमाएको थियो ।
११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए । जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो ।
तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।
गुल्शन झा र भीम सार्की
लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे ।
८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।
Discussion about this post