झापा, १८ वैशाख । सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको छ ।
शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने छ ।
कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने छ । साथै आगामी आर्थिक वर्ष पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमतिमा उल्लेख छ ।
आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवम् संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ ।
सरकारसँग भएको सहमतिसँगै आविष्कार केन्द्रले शुक्रबारदेखि माइतीघर मण्डलामा थालेको धर्नाका सबै कार्यक्रमहरु स्थगित भएको छ ।
Discussion about this post