बाह्रदशी, २० बैशाख । श्रीमान फुसन मुर्मु सवारी ज्यान मुद्धामा आठ महिनादेखि झापा कारागारमा छन् ।
यता काखको १० महिनाको छोरासहित तीन सन्तानको पालन पोषणको अभिभारा बोकेकी बाह्रदशी गाउँपालिका–७, स्थित डाँगीवारीकी राधा मुर्मु क्यान्सर रोगसँग लडिरहेकी छन् ।
दश महिनाको छोरा, ५ वर्ष र ९ वर्षका दुई छोरीसहित तीन नाबालक छोराछोरीको संरक्षणका लागि आमा राधाले प्राणघातक क्यान्सर रोगलाई परास्त गर्नु नै पर्ने छ । त्यसका लागि उनलाई अरुबाट चाहिँएको छ, हौसला र आर्थिक सहयोग ।
घाँटीमा समस्या आएपछि सुरुमा उनलाई थाइराइडको शंका लागेको थियो । अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले क्यान्सर रोग भनेर बताएपछि उनी आकाशबाट खसेजस्तै भइन् । श्रीमान कारागारमा । सम्पत्तिको नाममा दश धुर जग्गा र सानो एकतले घर । क्यान्सर रोगको उपचारका लागि मुर्मु परिवाररमा ठुलो समस्या आयो ।
उनले सरसापट र ऋणपान गरेर गत माघ २५ गते घाँटीको शल्यक्रिया गराएकी थिइन् । क्यान्सर रोगलाई निरन्तर उपचार गर्नेुपर्ने हुन्छ । तर, आर्थिक अभावका कारण उनले थप उपचार गर्न सकेकी छैनन् ।
यस्तो अवस्थामा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले मुर्मुकै घरमा पत्रकार सम्मेलन गरेर सहयोगका लागि अपिल गरेको छ ।
संस्थाका अध्यक्ष भूपाल बस्नेतले तीनजना नाबालक छोराछोरीका लागि राधाको ज्यान बचाइदिन सबैसँग आग्रह गरेका छन् ।
कार्यक्रममा बाह्रदशी–७ का वडाध्यक्ष मित्र भट्टराई, बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मी उप्रेती, निवर्तमान वडाध्यक्ष पुष्पलाल धमला, नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाई, स्थानीय युवा टंक कार्कीले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पीडित परिवारले माछापुछ्रे बैंकमा राधा मुर्मूको नाममा रहेको ४७०५५४०१०५९५०५३४ नं को खातामा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।
Discussion about this post