झापा, ७ जेठ । झापा गाउँपालिकाले सडकमा विस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले प्रतिबन्ध लगाएको छ ।
कालोपत्रे गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका धान, मकै, गहुँ लगायतका सामाग्रीहरु सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शुक्रवार सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकहरुमा जथाभावी विस्कुन नसुकाउन आग्रह गरेका छन् ।
सूचनामा भनिएको छ, ‘कृषिजन्य उपजका विस्कुन सुकाइएको कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाई भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन सूचित गरिन्छ ।’
उनले सूचनाको अवज्ञा गरी विस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताए ।
विशेष गरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकहरुमा किसानले उत्पादन गरेका सामाग्रीहरु विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ ।
कचनकवल, हल्दिबारी, गौरीगञ्ज, बाह्दशी, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका लगायतका भित्री सडकहरुमा विस्कुन सुकाइन्छ ।
Discussion about this post