मेचीनगर, ६ जेठ । खानेपानीको महशुल नतिरेका कारण मेचीनगर नगरपालिका कार्यालयमा जडान भएको खानेपानीको धारा काटिएको छ ।
बिगत तीन वर्षदेखि नगरपालिकाले खानेपानीको महशुल नतिरेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ ।
धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमै रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीहरुलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए ।
उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकहरुले एक्कासी पानीको धारा काटिदिएको गुनासो गरे । ‘एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौं, एक शब्द सोधिएन’–उनले भने ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बिगत तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताए ।
उनका अनुसार नगरपालिकाको बक्यौता ६ लाख भन्दा बढी भइसकेको र यसबीचमा पटक–पटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो । ‘उपभोक्तालाई लाग्ने कानून र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल गर्यौं, तर नगर प्रशासनले पुरै वेवास्ता गर्यो’–अध्यक्ष पराजुलीले भने ।
मेचीनगर नगरपालिकाले खानेपानीको १४ वटा धारा प्रयोग गरिरहेको छ । पराजुलीले शुक्रवार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको दावी गरे । नगरपालिकाले भने खानेपानीको बक्यौता छिटै भुक्तानी गरिने जनाएको छ ।
अध्यक्ष पराजुलीले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताहरुको धारा काट्ने अभियान सुरु गरिएको बताए । लामो अवधिदेखि महशुल नबुझाएका तीन दर्जन संघ–संस्थाको यसै साता धारा काटिदिएको उनले जानकारी दिए ।
Discussion about this post