बिर्तामोड, ८ जेठ । बिर्तामोड नगरपालिकाले कृषिथोक बजारको घरटहरा डोजर लगाएर भत्काएको छ ।
बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटिया खाली गराउन पटक–पटक पत्राचार र सूचना जारी गरे पनि व्यापारीले नटेरेपछि सोमबार डोजर लगाएर भत्काइएको हो ।
टहरा भत्काउन पालिकालाई जिल्ला प्रहरी कार्यालय झापाले समेत साथ दिएको छ । यद्यपि उद्योग बाणिज्य संघ बिर्तामोडले डोजर चल्न नदिन अनेक प्रयास समेत गरेको थियो । टहरा भत्काउने क्रममा एउटा डोजरका अगाडि सिसा समेत व्यापारीले फुटाइदिएका छन् ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने डोजर चलाउने क्रममा कुनै पनि अप्रिय घटना नभएको बताए । उनले डोजर चल्न थालेपछि व्यापारीहरु आफैंले सामान हटाएर सहयोग गरेको बताए ।
बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिहरुले आज विहान विशेष बैठक बसेर एकमतका साथ बजार खाली गराउने निर्णय गरेका छन् ।
युनिकमको आपत्ति
यसैबीच बिर्तामोड स्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटना प्रति युनिकम नेपालले गम्भीर आपत्ति व्यक्त गरेको छ ।
केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ–विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।
Discussion about this post