मेचीनगर, ३२ जेठ । ‘यो हो वुद्धको देश नेपाल’ लेखिएको १२० फिट लामो उपयोगी कला (व्यानर) र ८,८४८ वर्ग इन्चको वुद्धको चित्र आज इटाभट्टामा प्रदर्शनी भएको छ ।
नेपाललाई चिनाउने बुद्धको जन्म नेपालमा भएको भन्ने बारेमा विश्वभर प्रचार गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको कार्यक्रमका परिकल्पनाकार एवम् संयोजक केसाङ लामाले बताए ।
आदर्श मावि इटाभट्टाको प्रांगणमा विहीबार दिउँसो भएको कार्यक्रममा प्रतिभाशाली कलाकार लामाले १२० फिट लामो उपयोगी कला र बुद्ध चित्रको प्रदर्शन गरे ।
जहाँ नेपालमा जन्मिएका गौतम बुद्धको दिब्यवाणी, उनका उपदेश झल्काउने विविध साँस्कृतिक तथा चित्रात्मक प्रस्तुतिसँगै गीत र नृत्य कला प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन अघि विशाल ब्यानरसहित सयौँ सहभागी र्याली इटाभट्टा चोक, नगरपालिका अगाडि पूर्व–पश्चिम राजमार्ग, प्रतिभा चोक परिक्रमा गर्दै विद्यालय परिसर आइपुगेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले बुद्धको प्रतिमा अनावरण गर्दै कार्यक्रमको उद्घाटन गरे । स्वागत नृत्यको रुपमा विभिन्न विद्यालयबाट आएका १६४ विद्यार्थी सहभागी ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले स्वागत गरेको कार्यक्रममा मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर शिक्षा शाखा प्रमुुख होमनाथ भण्डारी लगायतले बुद्धको सन्देश छर्ने र बुद्ध जन्मिएको देश नेपाललाई विश्वब्यापीरुपमा चिनाउन कलाकार लामाले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
नेपाल शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहालले कलाकार लामाको ब्यक्तित्व बारे चर्चा गरेका थिए । कलाकार लामा आदर्श माविका पूर्व विद्यार्थीसमेत हुन् । उनी लामो समयदेखि उपयोगी कलामा कृयाशील छन् ।
कलामार्फत उनले देशभर अभियान सञ्चालन गर्दै आएका छन् । कलाकार लामाले बुद्धयात्रालाई अभियानको रुपमा सञ्चालन गरिएको बताए ।
उनले भने, ‘मेचीनगरबाट अभियान सुरु भएको छ, यसलाई लुम्बिनीसँग जोडेर विश्वभर नेपाललाई चिनाउने हाम्रो प्रयास हो ।’ कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।
Discussion about this post