मेचीनगर, ३२ जेठ । सरकारले भर्खरै ल्याएको बजेटमा भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्थालाई खारेज गरेको विरोधमा भन्सार एजेन्ट प्रतिनिधिहरु आन्दोलित बनेका छन् ।
आर्थिक वर्ष २०८०–२०८१ को बजेटमार्फत भन्सार ऐन, नियमावली २०८० संशोधन गरी भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्थालाई खारेज गरिएको भन्दै सो निर्णय अनुचित, अव्यवहारिक र गैरजिम्मेवारी पूर्वक भएकाले तत्काल सच्याउन माग गर्दै भन्सार एजेन्ट प्रतिनिधिहरु आन्दोलित बनेका हुन् ।
भन्सार एजेण्ट महासंघले विहीबार भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै निर्णय नसच्याए सिंगो देश नै ठप्प पार्ने चेतावनी दिएका छन् ।
मेची भन्सारका एजेण्ट प्रतिनिधि शंकर थापाले सरकारले गरेको उक्त निर्णय तत्काल नसच्याएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए । थापाले भने, ‘एजेण्ड प्रतिनिधि र प्रतिनिधिसँग आवद्ध सयाँै परिवारको रोजीरोटी खोस्ने सरकारको निर्णय घोर निन्दनीय छ ।’
महासंघले आफूहरूले पाएको अधिकार राज्यले नाजायज तवरले खोसेको जनाउँदै सो संशोधनले गर्दा विगत २० औँ वर्ष अघिदेखि नै भन्सार एजेन्ट सोसरह काम कार्य गर्दै आएका करिब ३ सय जना प्रतिनिधिहरूको रोजगारी गुमेको जनाएको छ ।
मेची भन्सारका एजेण्ट मित्रलाल संग्रौलाले भन्सार एजेन्टको उचित व्यवस्थापन गर्नुपर्नेमा रोजगारी नै खोस्ने गरी गैह्र जिम्मेबारीपूर्ण निर्णय गरेको भन्दै निर्णय नसच्याए पूर्वी नाका बन्द गर्न बाध्य हुने बताए ।
महासंघका प्रतिनिधिहरुले शुक्रबार सम्ममा निकास निकाल्न महानिर्देशकलाई आग्रह गरेका थिए । यदि शुक्रबारसम्म पनि ठोस निर्णय नआएमा आइतबारदेखि देशभरका सम्पूर्ण भन्सार कार्यालयमा कामकाज ठप्प पारिने एजेन्ट महासंघका अध्यक्ष भरतराज घिमिरेको भनाई छ ।
Discussion about this post