झापा, १ असार । बिर्तामोड नगरपालिकाले फोहोरलाई कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर संकलन गर्न थालेको छ ।
नगरमा संकलन भएको फोहोरबाट बायोग्यास उत्पादन गरिने भएको हुँदा स्रोतमै वर्गीकरण गर्न थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले बताए ।
बिर्तामोडमा ११ वटा वडा छन् । कुहिने र नकुहिने फोहोर संकलनका लागि नगरपालिकाले सबै वडामा छुट्टाछुट्टै गाडी पठाउने गरेको उनले जानकारी दिए । कुहिने फोहोर संकलन गरेर दुई वटा गाडीमार्फत कनकाई बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा लैजाने कार्य शुरु भइसकेको छ ।
बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको साझेदारीमा स्थापना गरिएको सो कम्पनीले नगरबाट आउने कुहिने फोहोरलाई जैविक ऊर्जामा परिणत गर्ने परियोजना सञ्चालन गरिरहेको छ । वर्गीकरण नगरिएको फोहोर परियोजनाले लिदैन ।
‘हरेक टोल विकास संस्थामा जनचेतनामूलक कार्यक्रम गरेर घरबाट निस्कने फोहोर मैलालाई कुहिने र नकुहिने गरी दुई वर्गमा वर्गीकरण गरिदिन अनुरोध गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने–‘स्रोतमै वर्गीकरण भयो भने उपयुक्त हुने विज्ञहरुको धारणा बमोजिम हामीले अहिले फोहोर संकलन र जागरण अभियान सँगसँगै चलाइरहेका छौं ।’
वर्गीकरण नगरिएको फोहोर नबुझ्ने जानकारी गराइसकेको हुँदा नगरबासी आफैले कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाडोमा राखेर बुझाउने गरेको उनले बताए ।
कनकाई नगरपालिका वडा नम्बर २ को जामुनखाडीमा बायोग्यासको उत्पादन गृह छ । कनकाई– बिर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी स्थापना गरेर पालिकाहरुले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।
कम्पनीको २२ करोड लगानी मध्ये ६० प्रतिशत लगानी बिर्तामोड लगायत तीन वटा पालिकाले व्यहोरेका छन् । बायोग्यास उप्पादनका लागि विश्व बैंकले पाँच करोड ४६ लाख अनुदान दिएको छ ।
बिर्तामोडबाट दैनिक न्यूनतम् ६ ट्याक्टर फोहोरमैला निस्कने गरेको छ । बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहोरलाई प्रयोग गरेर कम्पनीले बायोग्यास उत्पादन गर्नेछ ।
कुहिने फोहोरबाट बायोग्याँससँगै जैविक मल समेत उत्पादन हुनेछ । नकुहिने प्लास्टिकजन्य फोहोरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने समेत कम्पनीको योजना छ ।
कम्पनीमा चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार २०० घनमिटर बायोग्याँस उत्पादन गर्न सकिने बताइएको छ ।
बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट व्यावसायिक रुपमा ग्याँस उत्पादन सुरु गर्न नगरपालिकाहरुबाट वर्गीकरण भएको फोहोर संकलन आवश्यक रहेको बताइन् ।
Discussion about this post