मेचीनगर, २३ वैशाख । मेची उद्योग बाणिज्य संघको निर्वाचन आउन तीनदिन मात्र बाँकीरहदा व्यवसायीहरु चुनावी चटारोमा रहेका छन् ।
दुईटा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका व्यवसायीहरु हरेक दिनजसो चुनावी कार्यक्रम गरिरहेका छन् ।
दुवै समूह आफ्नो वहुमत सदस्य निर्वाचित गर्न मतदाता व्यवसायीको भेला गर्ने, छलफल र घरदैलो कार्यक्रममा जुटेका छन् ।
निर्वाचनका लागि व्यवसायीको साझा र समावेशी समूहका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
साझा व्यवसायी समूहमा खेमराज प्रसाईले नेतृत्व गरेका छन् । यो समूहले बुधबार चारआलीका विभिन्न पसलमा व्यवसायीहरुलाई भेटेर भोट मागेका थिए ।
यता समावेशी व्यवसायी प्यानलबाट किशोर क्षेत्री (कपिल) ले नेतृत्व गरेका छन् । क्षेत्रीको प्यानल पनि बुधबार चारआलीका व्यवसायीहरुसाग् भेटघाटमा व्यस्त थियो ।
प्रसाई नेकपा एमाले निकट हुन् भने क्षेत्री नेपाली कांग्रेस निकट । प्रसाईसँग रास्वपा, नेपाली कांग्रेस, राप्रपा, जसपा निकटका व्यवसायीहरुको समूह उम्मेदवार रहेका छन् ।
क्षेत्रीको नेतृत्वमा राप्रपा, श्रम शक्ति र नेकपा निकट व्यवसायीहरु उम्मेदवार रहेको बुझिएको छ । अध्यक्षका दुवै जना उम्मेदवार प्रसाई र क्षेत्रीले आ–आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।
प्रसाई संघका वर्तमान अध्यक्ष हुन् भने क्षेत्री वरिष्ठ उपाध्यक्ष हुन् । संघको यही वैशाख २६ गते पासाङ ल्हामु जेसीज स्मृति प्रतिष्ठान (टाउन हल) मा चुनाव हुँदै छ ।
३ वर्षे कार्यकालका लागि संघमा १६ जनाको कार्यसमिति रहने छ । १६ पदका लागि ३२ जनाको उम्मेदवारी रहेको छ । संघमा करिव २ हजार मतदाता रहेका छन् ।
मेचीनगरको मुख्य शहरहरु धुलाबारी, काँकरभिट्टा, चारआली, ईटाभट्टा र बाहुनडाँगी बजारमा व्यवसायीहरुको पसल तथा उद्योगहरु रहेका छन् । मतदाताको हिसावले धुलाबारी क्षेत्रमा बढी मतदाता रहेका छन् ।




Discussion about this post