मेचीनगर, २७ असार । सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएका बालक तान्छोपहाङ लिम्बु पढ्ने मन्टेश्वरीका सञ्चालक मनोज गुरुङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एकजना सञ्चालक फरार छन् ।
मेचीनगर–१० स्थित सानो साथी किन्डर गार्टेन नामक मन्टेस्वरी स्कुलमा नर्सरीमा पढ्ने तान्छोप सोमवार स्कुलको शौचालयको सेप्टिक ट्यांकीमा डुबेर घाइते भएका थिए ।
उनको उपचारको क्रममा बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको थियो । मृतकका खर्कबहादुर सुब्बाले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको बताएको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर–११ का ४५ वर्षीय मनोज गुरुङ, मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल रहेका छन् । अर्का आरोपी एवम् स्कुलका सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली फरार छन् ।
गुरुङ र रसाईली स्कुलका साझेदार रहेको बुझिएको छ भने पोखरेलले स्कुलको व्यवस्थापक र सुनारले कर्मचारीको काम गर्दै आएका थिए ।
मृतक तान्छोपहाङका बाबु खर्कबहादुर बहराइनमा वैदेशिक रोजगारीमा छन् । छोराको दुःखद् खबर सुनेर उनी मंगलवार विदेशबाट घर आइपुगेका छन् ।
Discussion about this post