झापा, ३० असार । गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित दशगजामा रहेको सीमा स्तम्भ (पिलर) बाढीले बगाएको छ ।
लगातारको वर्षासँगै कमल खोलामा आएको बाढीले दशजगामा रहेको १४०÷१५ नम्बरको पिलर बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
शुक्रबार वर्षासँगै आएको बाढीले सो पिलर बगाएको भन्दै पिलर खोजी कार्य भइरहेको उनले बताए ।
अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन् । वर्षाका कारण दमक–४ ताराबारी स्थित मावा खोलामा बाढी आई खोला किनार रहेको खाली ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ ।
बाढीले करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ कटान गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ ।
जिल्लाको बाह्रदशी–२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् ।
गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घर परिवार विस्थापित भएकोमा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घरका परिवार फर्किएका छन् ।
Discussion about this post