सुरुङ्गा, ३१ असार । कनकाई नगरपालिकाले आजदेखि लागू हुने गरी सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
कनकाई नगरपालिकाले एक सूचना जारी गरेर २०८० साउन १ गते सोमबारदेखि लागू हुने गरी सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोग गर्न रोक लगाएको हो ।
नगरपालिका क्षेत्रभित्र गुट्खा, खैनी तथा चुरोट लगायतका सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोग गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले सूर्तीजन्य पदार्थको सेवनबाट हुने घातक रोगहरुबाट नगरवासीलाई जोगाउने उद्देशयले उक्त निर्णय गरिएको बताए । उनले तीन महिनाअघि नै सो विषयमा कार्यपालिकाले निर्णय गरेको बताए ।
उक्त निर्णयको उल्लघन गरे सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई ५० हजारसम्म जरिवाना र व्यवसाय दर्ता खारेजीसम्म गरिने उनले बताए ।
त्यस्तै सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ प्रयोग गरिएको भेटिए ५ हजारसम्म जरिवाना गरिने नगरप्रमुख पोखरेलले जानकारी दिए ।
‘नागरिकको स्वास्थ्यसँग जोडिएको विषय छ’, पोखरेलले भने–‘१० प्रतिशत क्यान्सर सूर्तीजन्य पदार्थका कारण भएको छ । यस विषयमा सबै संघ–संस्थाका प्रमुख, प्रतिनिधि र स्थानीयबासीलाई जानकारी गराएको छ । यो अभियान सफल हुन्छ भन्ने लागेको छ ।’
यसअघि स्थानीयहरुले बन्द निषेधित क्षेत्र घोषणा गरेका थिए । यसपटक नगरपालिकाले स्थानीयबासीको साथमा सूर्तीजन्य पदार्थलाई निषेध गर्ने अभियान चलाएको छ ।
Discussion about this post