झापा, ३१ असार । स्वास्थ्य उपचार प्रविधि, अनुसन्धान र सहुलियतका लागि भारतको राजीव गान्धी क्यान्सर अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ ।
दक्षिण एसियाका दुई अत्याधुनिक सुविधासम्पन्न अस्पतालका प्रमुखहरुले शनिबार बेलुका बिर्तामोडको होटल किङ्सबेरीमा आयोजित एक कार्यक्रममा ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालको क्यान्सरको उपचारमा अत्याधुनिक प्रविधि, उपकरण र चिकित्सा पद्धति प्रयोग गर्ने प्रमुख अस्पताल हो भने नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर अस्पताल नेपाली बिरामी भारतमा उपचार गराउन जाने मुख्य अस्पताल हो ।
सम्झौता पत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.बीरेन्द्रप्रसाद यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले हस्ताक्षर गरेका थिए ।
सो अवसरमा बीएण्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाई, अस्पतालका अध्यक्ष डा.रामबाबु गिरी, सीइओ डा.निराजन प्रसाई, मेडिकल डाइरेक्टर डा.उमेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजीव गान्धी क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.मनिष घिरेवाला, ओमसाई पाथिभरा हस्पिटलका मेडिकल डाइरेक्टर डा.शशी सिंह, सामाजिक अभियन्ता खुश्वु ओली, रोटेरियन सन्तोष अग्रवाल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. रावलले क्यान्सरको उपचारका लागि भारतमा जाने नेपालीको संख्या १५ प्रतिशत रहेको बताए ।
पूर्वाञ्चल क्यान्सर अस्पताललाई टेलिमेडिसिन र रोबोटिक सर्जरीमा समेत राजीव गान्धी क्यान्सर अस्पतालले सघाउने सम्झौता भएको बीएण्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. शर्माले बताए ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका विरामीको थप उपचार आवश्यक परेमा सिफारिस पत्र लिएर जाँदा राजीव गान्धी क्यान्सर अस्पतालले उपचार सेवा र सुविधामा सहुलियत प्रदान गर्ने भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।
कार्यक्रममा बीएण्डसी हस्पिटलका कार्यकारी प्रमुख प्रसाईले राजीव गान्धी क्यान्सर अस्पतालसँगको ऐतिहासिक सम्बन्ध विस्तारले स्वदेशमै विश्वस्तरीय क्यान्सरको उपचार प्रदान गर्ने लक्ष्यमा अस्पताल सफल हुँदै गएकोमा खुशी व्यक्त गरे ।
Discussion about this post