झापा, ७ साउन । डी.कौडिण्य पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक अधिकारी सम्मानित भएका छन् ।
आज बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमामा प्रेस सेन्टर नेपाल झापा शाखाले एक कार्यक्रमको आयोजना गरेर पत्रकार अधिकारीलाई २१ हजार रुपैयाँको नगद राशीसहित पुरस्कृत गरेको हो ।
पत्रकार अधिकारीलाई प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले सो पुरस्कार प्रदान गरेका थिए ।
भद्रपुर निवासी पत्रकार अधिकारी नौलो आवाज साप्ताहिकका सम्पादक हुन् । दुई दशकदेखि पत्रकारितामा क्रियाशील उनलाई जनयुद्धकालमा माओवादीलाई समर्थन गरेको आरोपमा नेपाली सेनाले बन्दी बनाएर बंकरमा यातना दिएको थियो ।
पत्रकार डी.कौडिण्यलाई तत्कालीन नेपाली सेनाले माओवादीको आरोपमा पक्राउ गरेर २०५९ साउन ७ गते चारआलीको व्यारेकमा हत्या गरेको थियो । पत्रकार, साहित्यकार र राजनीतिज्ञको रुपमा परिचित उनको स्मृतिमा हरेक वर्ष प्रेस सेन्टर झापाले पुरस्कार वितरण गर्दै आएको छ ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले अध्यक्षता गरेको कार्यक्रममा पुरस्कृत पत्रकार अधिकारीको व्यक्तित्वमाथि प्रेस सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मी र डी. कौडिण्यका विषयमा पत्रकार विमल लामिछानेले प्रकाश पारेका थिए ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, प्रदेश सदस्य मणिकुमार साम्पाङ, नेता सीपी कडरिया, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, डी. कौडिण्यकी छोरी तृष्णा आचार्य लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post