।। अर्जुन कार्की ।।
झापा । कोशी प्रदेशमा मात्र होइन, मुलुकमै एउटा यस्तो समुदायको बसोबास झापामा मात्र रहेको छ, जो मौलिक संस्कृति र परम्पराका लागि धेरै नै धनी छन् । उनीहरु हुन् मेचे समुदाय ।
नेपाल धर्म, जाति र संस्कृतिको विविधता भएको मुलुक हो । यही विविधताभित्र्रको एकता नै नेपालको राष्ट्रियताको बलियो आधार हो । मेचे समुदायलाई नेपाल सरकारले लोपोन्मूख एवम् सीमान्तकृत समुदायमा सूचीकृत गरेको हुँदा उनीहरुले सामाजिक सुरक्षा भत्ता समेत पाउँदै आएका छन् ।
संघीयता स्थापना भएपछि कोशी प्रदेश सरकारले लोप हुन लागेको यो समुदायको भाषा, संस्कृति र परम्पराको जगेर्नाका लागि महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । पालिकाहरुले पनि उनीहरुको पहिचान, संस्कार र परम्परालाई महत्त्व दिदै राष्ट्रिय मूलधारमा जोड्न सेतुको काम गरिरहेका छन् । यो समुदायको हित र उत्थानका लागि स्थानीय तहहरुले प्राथमिकतामा राखेर नीति र योजनाहरु बनाउने गरेका छन् ।
‘विगतमा सरकारले हेरेको थिएन’, मेचे समाज शिवियारी आफातका केन्द्रीय सदस्य अमर मेचेले भने– ‘अहिले बल्ल राज्यले चिन्न थालेको महसुस भएको छ । प्रदेश सरकार र स्थानीय तहहरुले हाम्रा भावना र मर्म बुझ्न थालेका छन् । विशेष गरेर मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकालाई धन्यवाद दिन चाहन्छौँ ।’
मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकाले मेचे समुदायको ‘बैशागु वथर’ पर्वमा स्थानीय बिदा समेत दिने गरेका छन् । मेचीनगरले मेचे समुदायको विकास, प्रवद्र्धन र संरक्षणका लागि नीति बनाएर अघि बढिरहेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी बताउँछन् । यो उनीहरुका लागि सुखद् पक्ष हो ।
लोपोन्मुख तथा सीमान्तकृत जाति भएकाले यो समुदायका बालबालिकाको शिक्षा र रोजगारीमा पनि सरोकारलवालाले प्राथमिकतामा रख्ने गरेको पाइन्छ । मेचे समुदायका नागरिकहरु रोजगारीका लागि स्वदेश तथा विदेशमा समेत पुग्ने गरेका छन् । तापनि समुदायको मुख्य बसोबास भने झापामा मात्र छ । जिल्ला बाहिर रोजगारी र अन्य कारणले मात्र पुग्ने गरेका छन् ।
छिटपुट रुपमा मोरंग र सुनसरी जिल्लामा हाल उनीहरु बसोबास गर्न थालेको पाइन्छ । नेपालको २०७८ सालको जनगणना अनुसार यो समुदायको जनसंख्या पाँच हजार १९३ मात्र छ ।
झापाको १५ वटा पालिकामध्ये ९ वटा पालिकामा मात्र यो समुदायको बसोबास छ । मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा उनीहरुको बसोबास छ ।
त्यसो त यहाँका युवाहरुको एउटा समूहले मेचीनगरमा बर्षेनी लोपोन्मुख, सीमान्तकृत तथा अन्य जातिहरुको मौलिक र अर्गानिक मौलिक रैथाने खानाका परिकारको स्वाद लिने गरी महोत्सव पनि आयोजना गर्छन् । मेचीनगर–१०, धुलाबारी स्थित नन्दा करिडोर प्रर्वद्धन केन्द्रले हरेक वर्ष ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव आयोजना गर्दछ ।
यहाँका आदिवासी जनजातिहरु किसान, राई, नेवार, मेचे, राजबंशी, धिमाल र दनुवार लगायत समुदायका रैथाने स्वादको खानाको पनि प्रर्वद्धन हुने हिसावले रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव लगाउने गरिएको केन्द्रका अध्यक्ष धमेन्द्र खड्काले जानकारी दिए ।
मेचे समुदायको योङ खार्रइ–चामलको पिठो र मासु, बिथै, यख्रै–रक्तिको परिकार, लाफा फेल्खा–साँगको परिकार, नाफाम लादु–माछा धुलोको चट्नी, थाछो बाठन–कच्छुको अचार, यैस्था बाठन–बेलचनको अचार तथा बागरुम्बा, बारद, सिख्ला, वैशागु नित्यहरु देखाउने गरिएको छ ।
धिमाल जातिको तोल, ग्यान्द्रो, चीचीरी, सुँगुरको मासुको परिकार हुन्छ । आन्तरिक तथा बाह्यबाट आउने पर्यटकहरुले अवलोकनका साथै ति समुदायका परिकारहरु स्वाद लिदंै खाने गरेका छन् । त्यस्तै स्टलमा राजबंशी समुदायको घुँगी, बेल्का, भाक्का, माछाको झोल, बैगुनको सब्जीका परिकार, दनुवार समुदायको केराको बुंगोको आचार, गंगटा, हान्दी रोटी, नुहागी लगायतका खानाका परिकार हुन्छन् ।
यस्तै रैथाने परिकारमा किसान समुदायको झिंगे माछाको फ्राई, गंगटाको फ्राई, घुंगी झोल हालेको, पैयाँ माछाको फ्राई र सामुहिक किसान नित्य, राई समुदायको वाचीपा–कुखुराको मासु र भात, कोदोको जाँड (सगुनको रुपमा), कोदोको डिँडो, फिलुङ्गेको अचार र चण्डी नाँच रहने छ ।
नेवार समुदायको यमरी–चामलको पिठो, बारा–कालो दालको रोटी, चटामरी–चामलको रोटी, छोइला–राँगाको मासु, नेवारी खाँजा सेट तथा चर्या–कुमारी नित्य, बज्र योगिनी, मञ्जुश्री, लाखे नाच, धिमे नाच र नेवारी सांस्कृतिक नित्य हुने गरेको छ ।
रैथाने महोत्सव सफल पार्न स्थानीय सरकार मेचीनगर नगरपालिका र पर्यटन कार्यालय काँकरभिट्टाले सहयोग गर्ने गरेको छ । रैथाने खाना, होमस्टेलाई पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पहिचान, प्रचारप्रसार र प्रर्वद्धन गर्न यस्ता महोत्सवले सहयोग पुर्याउने पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको भनाई छ ।
पर्यटन कार्यालय काँकरभिट्टाले वर्षैपिछे ऐतिहासिक धार्मिक तथा पर्यटन प्रर्वद्धनसँग जोडिएका मेचीनगर लगायत आफ्नो क्षेत्र अधिकारभित्रका विभिन्न सामाजिक तथा पर्यटन प्रर्वद्धनमा लागेका संघ–संस्थाहरुलाई बजेट दिने गरेको छ ।
पर्यटन कार्यालय काँकरभिट्टाले झापा, ईलाम, पाँचथर र ताप्लेजुङ जिल्ला हेर्ने गर्छ । विभिन्न क्षेत्र लगायत धार्मिक तथा पर्यटन प्रर्वद्धनका लागि पाथिभरादेखि रामधुनीसम्मका स्थानीयको खानपान, रहनसहन लगायतलाई मध्येनजर गरेर होमस्टे लगायतमा उत्साहित बनाउन र स्वरोजगारका लागि काम गरिरहेको खतिवडाको बताए ।
यो समुदायले आफुलाई झापा जिल्लाको भूमिपुत्रका रुपमा दावी गर्छन् । यो समुदायको महान पर्व ‘बैशागु बथर’ बैशाख महिनाभरि मनाउने चलन छ । उनीहरुको आफ्नै संस्कृति, परम्परा, संस्कार, भाषा, खानाका मौलिक परिकारहरु छन् ।
जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरु समुदायको वस्ती, घरमा आएर अध्ययन तथा अवलोकन गर्छन् । बैशागु बथर पर्वमा मेचीनगरले सार्वजनिक बिदा दिने गरेको छ । यस्तै हल्दिबारी गाउँपालिकाले पनि बिदा दिने गरेको छ । अहिले धेरै पालिकाले बिदा दिन सुरुवात गरेको छन् । हल्दिबारीमा मेचे समुदायको भाषामा समेत पढाई हुने गरेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचे समुदायको पहिचान, संरक्षण र संवद्र्धनका लागि ‘बैशागु वथर’ पर्वमा सार्वजनिक बिदा दिने गरिएको बताए । गरिवी र अशिक्षा समुदायको चुनौति भए तापनि संस्कृति र परम्पराको जगेर्ना गर्दै समुदायलाई पर्यटनसँग जोडेर आर्थिक उपार्जनमा लाग्न प्रदेश सरकारले पछिल्लो समय उनीहरुको विकास र प्रर्वद्धनमा बजेट दिने गरेको छ ।
यो समुदायको एउटा रोचक इतिहास पनि छ । इतिहासकारहरुले श्री ३ जंगबहादुर राणाकी मन पराइएकी रानी नीलसरी भएको चर्चा गर्दै आएका छन् । उनै नीलसरी मेचे समुदायकी कन्या हुन् । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा बसोबास गर्ने उजिरसिंह मेचेकी छोरी नीलसरीलाई जंगबहादुरले शिकार खेल्न आएका बेला मन पराएर रानी बनाएको इतिहास छ ।
‘जंगबहादुर राणा शिकार खेल्न कनकाईदेखि मेची नदीसम्मको भागमा आउने गर्दथे,’ मेचे समुदायका अगुवा कालु मेचेले भने– ‘मेचीनगर–८ को ऐतिहासिक पातालगंगा धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा आसपासको पालिया खोलामा नुहाउँदै गरेको अवस्थामा नीलसरीलाई देखेर उहाँ मोहित हुनुभयो । त्यसपछि शिकार खेलेर राजधानी फर्किने बेलामा नीलसरीलाई विवाह गरी रानी बनाउनु भएको थियो ।’
त्यसबेला पानी नचल्ने जातका रुपमा मेचे समुदायलाई लिने गरिएको थियो । मेचे जातिको चिनारी पुस्तकका लेखक भुवनलाल मछाहारीका अनुसार नीलसरीलाई विवाह गर्नुअघि उनका बुबा उजीरसिंहले जंगबहादुरलाई पानी चल्ने जात बनाइदिन प्रस्ताव राखेका थिए । राणाले उजिरसिंह मेचेलाई पानी चल्ने र चौधरी पद समेत थपिदिएका थिए भन्ने इतिहासकारहरुको भनाई छ । सोही ठाउँको ३२ विघा जग्गा समेत राणाले नीलसरीलाई उपहार दिएका थिए ।
नीलसरीका बुवा उजिरसिंह मेचेको चौथो पुस्ता हाल मेचीनगरमै बसोबास गरिरहेको छ । ऐतिहासिक पात्र भएकै कारण नीलसरीको सम्झना र मेचे समुदायको संस्कृतिको संरक्षण गर्न पनि प्रदेश सरकार, संघ र स्थानीय तह लाग्नु पर्ने देखिन्छ । त्यसबेला राणाले विद्वा पण्डितहरुको सभा बोलाएर मेचेलाई पानी चल्ने जाति हो भनी निर्णय समेत गराएर तत्कालिन मुलुकी ऐनमा पनि यो कुरा समावेश गरिएको लेखक मछाहारीको भनाई छ ।
मेचे समाज शिवियारी आफातका केन्द्रीय अध्यक्ष वीरेन मेचेले तीन तहकै सरकारले मेचे समुदायको मातृभाषा, रीतिरिवाज, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा ध्यान दिनु पर्ने बताएका छन् । मेचे समुदायकी एक ऐतिहासिक धरोहरका रुपमा रहेकी नीलसरीको मेचीनगरमा प्रतिमा (शालिक) बनाएर राख्ने सोच रहेको मेचे समुदाय एक सशक्त युवा सञ्जय मेचेको दावी छ ।
लामो समयदेखि आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान परिसद् सदस्य सञ्जयले ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा मन्दिर छेउमा प्रस्तावित नीलसरी मेचे जवरा प्रतिष्ठानले नीलसरीको प्रतिमा राख्ने तयारी गरिएको जानकारी दिए । यसका लागि आफ्ना संस्थाका अगुवा, राष्ट्रिय सभाकी सांसद रोश्नी मेचे, यस समुदायका स्थानीय तहका पूर्व जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वय गरेर प्रतिमा बनाउने लक्ष्य रहेको उनको भनाई छ ।
श्री सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समितिका अध्यक्ष गणेशकुमार खरेलका अनुसार घैलाडुब्बा र पातालगंगा मन्दिरसँग उजिरसिंह मेचेको सम्बन्ध गाँसिएको छ । उनकी छोरी नीलसरी मेचे चौधरीको इतिहास रहेको छ । विगतमा उनीहरुको जंगबहादुर राणासँगको सम्बन्धले यो क्षेत्र त्यस मानेमा पनि ऐतिहासिक छ । यस हाताभित्रको २०२० सालमा श्री घैलाडुब्बा देवी मन्दिर निमार्ता नागाबाबा सारकेश्वर गिरि र मन्दिर निर्माण गर्ने दाताका रुपमा श्रीकुमरसिंह चौधरी र उनकी श्रीमति पानश्वरीदेवीको इतिहास रहेको उनले बताए ।
प्रदेश सरकारले स्थानीय तहहरुमा उनीहरुको भाषा र संस्कृतिको विकासका लागि बजेटहरु विनियोजन गरिरहेको भए तापनि अझै अपुग भइरहेको अवस्था छ । पर्यटन, वन तथा वाताबरण मन्त्री भीम पराजुलीले ती समुदायको भाषा र संस्कृतिको विकासका लागि स्थानीय तहहरुलाई बजेटहरु दिइएको बताए ।
‘यहाँका आदिवासी जसलाई भूमिपुत्रका रुपमा पनि चिनिने गरिन्छ’, मन्त्री पराजुलीले भने–‘उनीहरुको संस्कार, भाषा, संस्कृति प्रवद्र्धन गर्न कुनै कसर बाँकी राख्ने छैनौँ । यो समुदायलाई मात्र होइन राजबंशी, धिमाल, मुण्डा, किसान, उराउ लगायत पिछडिएका, लोपोन्मुख, सीमान्तकृत जातिहरुको उत्थानमा सरकारले महत्वपूर्ण योगदान दिइरहेको छ ।’
प्रदेश सरकारले पहाडी क्षेत्रको ग्रामीण भेगमा रहेका गरिवी, अशिक्षा, लैङ्गिक हिंसा र विभेदमा परेका अधिकांश महिला तथा बालबालिकाहरुको हितमा विभिन्न माध्यमबाट सचेतना, सीपमूलक तालिम, आत्मनिर्भर बन्ने अवसरहरु प्रदान गरिरहेको पनि छ । विगतमा पहाडका नागरिकहरु रोजगारी, शिक्षाका लागि शहर पस्नेहरु अहिले आफ्नै ठाउँमा पूर्वाधारको विकास भएसँगै बजारीकरणका लागि शहर र गाउँको उत्पादनलाई जोड्न सेतुको काम प्रदेश सरकारले गरिरहेको छ ।
‘स्थानीय खानपान, रहनसहन, परम्परा, भेषभुषा र संस्कृतिको जर्गेनाका लागि वर्षैपिछे पर्यटनसँग जोडेर मन्त्रालयले बजेट विनियोजन गरिरहेको छ’, प्रदेश सचिव डा.ईन्द्रप्रसाद सापकोटाले भने–‘गतवर्ष पनि यसका लागि बजेट छुट्टाएका थियौं । स्थनीयको माग अनुसार सधैं सहकार्य गरेरअघि बढीरहेका छौं । आगामी बजेटहरुमा थप बजेट विनियोजन गरेर भएपनि सरकार लागि परिरहेको छ ।’
(कोशी प्रदेश सरकारको लेखनवृत्ति कार्यक्रम अन्तर्गत लेखिएको)




Discussion about this post