मेचीनगर, २५ साउन । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजले धुलावारी चोकमा रहेका पिपल र आँपका रुखमा चराले बच्चा हुर्काइरहेको हुँदा त्यहाँका रुख नमास्न नगरपालिकालाई अनुरोध गरेको छ ।
मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलसहितको टोलीले आज नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती र मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाललाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाउँदै चरा र तिनको बासस्थानको संरक्षण गर्न माग गरेका हुन् ।
नगरपालिका र वडा कार्यालयलाई बुझाइएको पत्रमा त्यहाँका रुखहरुमा वर्षौदेखि बकुल्ला प्रजातिका चराहरुले गुँड बनाएर बर्खा याममा बच्चा कोरल्ने गरेको जानकारी गराउँदै चराले फोहोर गरेको बहानामा रुखै काट्ने र चरा लखेट्ने जस्ता कुनै पनि गतिविधि नगर्न समाजले आग्रह गरेको छ ।
केही दिनअघि बिर्तामोडको एक सञ्चारमाध्यममा चराका कारण स्थानीय बासिन्दा धमाधम विरामी फैलिन थालेको भनेर भ्रामक समाचार आएको समेत समाजले आफ्नो ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
कुन चराका कारण कति विरामी भए र ती विरामीको उपचार कुन अस्पतालमा भइरहेको छ भन्ने विषयमा तथ्य सार्वजनिक गर्न समेत समाजले चुनौति दिएको छ ।
अध्यक्ष खरेलले उपप्रमुख उप्रेती र वडाध्यक्ष खनाल दुबै जनाले चरा र रुख दुवैको संरक्षण गरिने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।
Discussion about this post