काँकरभिट्टा, २८ साउन । मेचीनगरमा सुधारिएको चुलो निःशुल्क वितरण गरिएको छ ।
मेचीनगर–८ स्थित विभिन्न टोलका २५० घर परिवारले सुधारिएको चुलो निःशुल्क पाएका छन् ।
प्रति गोटा पाँच हजार ५ सय रुपैयाँ मूल्य पर्ने धुवाँ रहित बिजुलीबाट थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब आफुलाई भान्सामा सहज भएको स्थानीयको भनाइ छ ।
पूर्व जनप्रतिनिधि विकेन्द्रकुमार धिमाल र सन्तोष मेचेको पहलमा एक बर्षअघि नै छनोट भई सिफारिस भएका स्थानीय रेनुका ढुंगाना, सीमा मेचे, लक्ष्मी मेचे, भानु लेप्चा, रमा भट्टराई, देवी रिजाल, हेमन्त लेप्चा, लोकनाथ खतिवडा, संगीत तामाङ लगायत २५० घर परिवारलाई आज एक कार्यक्रमको आयोजना गरेर वितरण गरिएको थियो ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले सो चुलो वितरण गरेको इन्भारमेन्ट प्रोटेक्सन सेन्टर (इपिसी) नेपालका प्राविधिक अमर मेचेले जानकारी दिए ।
उनले इपिसी नेपालको सहयोगमा गत असार महिनामा पनि मेचीनगर–९ मा २५० घर परिवारलाई सुधारिएको चुलो वितरण गरिएको बताए ।
इपिसी नेपालको सहयोगमा गत महिना मात्रै नगरका विभिन्न ६ वटा माविस्तरका विद्यालयलाई करिव ४२ लाखको लागतमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरेको थियो ।
जनप्रतिनिधिको पहलमा इपिसी नेपालको सहयोगमा मेचीनगर–८ स्थित ग्रामथाम टोलमा सो चुलो वितरण गरिएको थियो ।
चुलो वितरण कार्यक्रममा नगर प्रमुख बुढाथोकीसँगै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक योजना तथा पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, पूर्व जनप्रतिनिधि सन्तोष मेचे, नेकपा एमाले मेचीनगर–८ वडा कमिटी सचिव मिलन विश्वकर्मा, नवीन खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post