झापा, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएका छन् ।
उनले प्रदेश सभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिए ।
विश्वासको मत पाएको घोषणापछि मुख्यमन्त्री थापाले भने, ‘प्रदेश सभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो । यो निर्णयबिना अर्को विकल्प के छ ? प्रदेशलाई सरकारविहिनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’
असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताए ।
उनले भने, ‘संविधानको र संसदको कुरामा फेरि पनि उहाँहरु अदालत जानुहुन्छ । सर्वोच्चले व्याख्या गर्ला ।’
यो स्थितिको जिम्मेवारी उपसभामुखले लिनुपर्ने थापाको भनाइ छ । आजको कदमले प्रदेश सभाको औचित्य सिद्ध गरेको पनि उनले दाबी गरे ।
‘उपसभामुखले आज बैठक डाकेर आफू भाग्न मिल्छ ? यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखबाट भयो । उहाँले जिम्मेवारी लिनुपर्छ । उहाँले आजको समय दिए र प्रदेशसभाका सदस्यलाई तोकेर आफू हिँड्ने ? आफ्ना दलका ज्येष्ठ सदस्यलाई छुट्टि बस्न लगाएर प्रदेशसभा खाली गर्ने ? आज जसले अध्यक्षता गर्नुभयो, उहाँ सभामुख होइन । उहाँसँग मतदान गर्ने अधिकार छ । आजको कदमले प्रदेशसभाको औचित्य सावित भएको छ,’ थापाले भने ।
सभाध्यक्षले मतदान गर्ने निर्णय संविधानसम्मत रहेको उनले दावी गरे ।
(नेपाल प्रेस )
Discussion about this post