मेचीनगर, ७ भदौ । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले झापा क्षेत्र नम्बर १ का सांसदहरुसंग छलफल गरेर पूर्वी नाका खुलाउने पहल गर्ने बताएका छन् ।
आज काँकरभिट्टा स्थित होटल व्यवसायी संघ मेचीनगरको नयाँ भवनको उद्घाटन गर्दै मेयर बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।
‘चाँडै यहाँका सांसदहरुसँग बसेर काँकरभिट्टा नाका खुलाउने विषयमा छलफल गर्छु’, मेयर बुढाथोकीले भने–‘नाका नखुलेका कारण सबै क्षेत्रका मानिसहरु समस्यामा परेका छन् । चाँडै खुलाउने प्रयास गछौँ ।’
उनले कोभिड–१९ देखि पीडित बनेका यहाँका सबै क्षेत्रका मानिसहरुलाई नाका नखुलेका कारण पर्यटकहरु पनि आउन नपाएको बताए । भारतले यो नाकाबाट पर्यटकलाई भिषा नदिएका कारण यहाँका पर्यटन, होटल व्यवसायी सबै मारमा परेको उनको भनाई छ ।
यसका लागि सम्बन्धीत मन्त्रालयका सचिवसँग छलफल भइरहेको उनले बताए । उनले यहाँका सबै व्यवसायीहरुसँग बसेर नगरपालिकाले छलफल गर्ने बताए ।
मेची पुलमा सिटी रिक्साको भिड, बस पार्कमा यातायातको व्यवस्थापन, भारतबाट अवैधरुपमा छिर्ने सामान लगायतका विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने मेयर बुढाथोकीको भनाई छ ।
कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, होटल व्यवसायी संघ झापाकी अध्यक्ष ईन्दिरा श्रेष्ठ, होटल व्यवसायी एवम् समाजसेवी राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष अर्जुन सुब्बालाई सम्मान समेत गरिएको थियो ।
काँकरभिट्टामा ५ धुर जग्गामा एकतले पक्का भवन निर्माण भएको हो । २०७९ फागुन १५ गते भवनको शिलान्यास गरिएको थियो । २१ लाखमा रुपैयाँमा निर्माण भएको उक्त भवनका लागि नगरपालिकाले १० लाखमा कर काटेर ८ लाख ५० हजार, गोरखा ब्रुअरी कम्पनीले ५ लाख र नगरका विभिन्न होटल व्यवसायीहरुले सहयोग गरेको संघ जनाएको छ ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी (ध्रुब) ले र सञ्चालन महासचिव हस्तबहादुर तामाङले गरेका थिए ।
Discussion about this post