मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र वस्नेतले एकदिन यो धर्तीमा पुँजीवादको उछितो काढेर मात्र समाजवाद आउने बताएका छन् ।
आज काँकरभिट्टा स्थित खानेपनी कार्यालयको सभाहलमा समाजवादी जागरण अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् ।
‘५२ वर्षअघि देशमा सामान्तवाद अन्त्य गर्न जागरण अभियानको उदघोष गरेका थियौँ’, उपाध्यक्ष वस्नेतले भने–‘आज फेरि दलाल पुँजीवादको अन्त्य गरेर समाजवाद ल्याउन समाजवादी जागरण अभियान सुरु गरेका छौँ ।’
‘दलाल पुँजीवादले देशमा विकास हुँदैन । समाजवादी क्रान्तीका लागि सबै एकजुट भएर लाग्नु पर्छ । समाजवाद ल्याउँदा जनताले नपत्याउन सक्छन् । तर, एकदिन यो धर्तीमा पुँजीवादको उछितो काढेर भएपनि समाजवाद ल्याएरै छाड्छौँ’,–उनले भने ।
नामाकरणका विषयमा खुल्ला छलफल : जगनाथ खतिवडा
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले आइतबार मेचीदेखि महाकालीसम्म सुरु हुने १५ दिने अभियानका विषयमा पत्रकारलाई जानकारी गराएका थिए । उनले १ हजार किलोमिटरको लम्वे महाअभियान हुने बताएका छन् ।
उनले सयौँ थुङ्गा फुलका हामी भने जसरी एकीकृत समाजवादी पनि जनतासँगै एकता भएर अघि बढ्ने छ भन्ने हाम्रो अभियान रहेको स्पष्ट पारेका थिए । कोशी प्रदेशको नामाकरणका विषयमा खुल्ला छलफल गर्न तयार रहेको उनले बताएका छन् ।
कृषिमा क्रान्ती र युवा पलायन रोक्छौँ : डा.पौडेल
पार्टीका उपमहासचिव एवम् अभियानका संयोजक डा. विजय पौडेलका अनुसार अभियानको मुख्य उद्देश्य कृषिमा क्रान्ती र विदेश पलायन भएका युवाहरुलाई रोक्ने हो । उनले वेरोजगारी उन्मुलन र विकासको मानक परिवर्तन गर्ने दावी गरे ।
‘५१ प्रतिशत कृषिमा आधारित नेपाली जनताको जीवनस्तर अहिलेसम्म उठन सकेको छैन’, पौडेलले भने–‘कृषि उत्पादन बिक्री गछौँ र युवा पलायन रोक्छौँ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, विदेश नीति, पार्टी निर्माण लगायतका मुद्दा अभियानका मुल एजेन्टा रहेका छन् ।’
अभियानका क्रममा सबै तह तप्काका जनतासँग भेटेर सुझाव लिने, अभियानलाई सार्थक पारेपछि जनताबाट आएका एजेन्टालाई आगामी महाधिवेशनमा पारित गरेरअघि बढ्ने योजना रहेको उनको भनाई छ ।
उनले २०८४ सालको चुनावमा पार्टीलाई एक नम्बर बनाउने दावी गरे ।
०८३ को स्थानीय चुनाव कब्जा गछौँ : पुष्प पोखरेल
पार्टीका केन्द्रीय सदस्य, झापा इन्चार्ज एवम् अभियानका झापा संयोजक पुष्प पोखरेलले प्रतिगमनलाई प्रतिकार गरेर देशभरि यो अभियान सुरु गरेको बताए । संविधानलाई रक्षा गर्न पनि प्रतिगमनलाई मेचीबाट महाकाली हुँदै सुर्खेतमा लगेर बगाउने योजना रहेको पोखरेलको भनाई छ ।
‘अबको मिसन ०८४ साल होइन’, पोखरेलले भने–‘०८३ सालको स्थानीय तहको चुनाव कब्जा गर्ने छौँ ।’
अभियान भोलिदेखि सुरु
भोलि (आइतबार)देखि सुरु हुने अभियान अनुसार असोज १४ गते पहिलो दिन मेचीदेखि सुनसरी, १५ गते सप्तरी, १६ गते धनुषा, १७ गते रौतहट, १८ गते बारा, १९ गते चितवन, २० गते रुपन्देही, २१ गते बुटवल, २२ गते दाङ, २३ गते बाँके, २४ गते बर्दीया, २५ गते टिकापुर, २६ गते धनगढी, २७ गते महेन्द्रनगर र २८ गते सुर्खेतमा समापन हुनेछ ।
पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष प्रमुख अतिथि वस्नेतले अभियानको स्लेगन समेत सार्वजनिक गरेका थिए ।
पार्टीका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत झापा इन्चार्ज पुष्प पोखरेलले र सञ्चालन प्रचार विभाग सचिव प्रकाश खतिवडाले गरेका थिए ।
Discussion about this post