झापा, १३ असोज । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । बडादशैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।
Discussion about this post