झापा, १६ असोज । यसवर्ष दसैँको टीकाको साइत विहान ११ वजेर २ मिनेट उत्तम रहेको छ ।
आज नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो ।
असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
घटस्थापनाका दिन चित्रा नक्षत्र, वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते विहीबार पचली भैरव यात्रा गरिन्छ ।
कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ ।
मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्री पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ ।
कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रीको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि विहान ११ः२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ ।
यस्तै कात्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
Discussion about this post