झापा, १८ असोज । नेपाली काँग्रेस झापाको बुधवार सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।
जिल्ला सम्मेलन बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा दिनको ११ बजेदेखि आयोजना हुनेछ ।
बैठकमा पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईँले जिल्ला सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक एवम् भावी कार्यक्रम समेटिएको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकले नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा झापाबाट निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।
बैठकमा सहभागीहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ सभापति देउकुमार थेबे र उपसभापति केशवराज पाण्डेले जवाफ दिएका थिए । कोषाध्यक्ष जलकुमार गुरुङले आर्थिक योजनाका विषयमा जानकारी गराएका थिए ।
Discussion about this post