झापा, १२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
आइतबार बिर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।
‘मन्त्रिपरिषद् विस्तारमा किन ढिलो भइरहेको भन्ने लागेको होला’, उनले भने–‘अहिलेको सरकारलाई जन्म दिने र कर्म दिने सबैलाई सहमतिमा ल्याउनु पर्ने जिम्मेवारी आएको छ । त्यसैले मन्त्रिपरिषद् विस्तारमा ढिलो भइरहेको छ ।’
अहिलेको कोशी प्रदेश सरकार बलियो भएको र अब सरकार कहिले ढल्ला भन्ने विगतको जस्तो चिन्ता गरिरहनु नपर्ने उनको दावी छ ।
मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्राउन आग्रह गरे ।
समाजको बिर्तामोडमा सम्पन्न चौथो महाधिवेशनले मुकुन्द ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चम्लागाई, उपाध्यक्षद्वयमा भुपाल सिटौला र चुडामणि कार्की, महिला उपाध्यक्षमा शर्मिला बस्नेत, महासचिवमा नबिन पोखरेल, सचिवमा रबिन गिरी लगायत चयन भएका छन् ।
Discussion about this post