झापा, १२ कात्तिक । चारपाने प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगदराशीको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानांगलाई प्रदान गर्ने भएको छ ।
हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको यो पुरस्कार यसवर्ष नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहेका भक्तपुर निवासी प्रधानांगलाई दिने निर्णय गरेको सहाराका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।
यही कात्तिक १८ गते बिर्तामोडमा सो संस्थाको साधारण सभामा उक्त पुरस्कार वितरण गरिने भएको छ । यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
सहकारी विज्ञ प्रधानांग सहरमा भन्दा गाउँमा सहकारी खोल्नु पर्ने र राज्यको नियमन कमजोर बन्दा हाल विकृति मौलाउने अवसर पाइरहेको धारणा राखे । गरीवका लागि सहकारी अभियान बरदान सावित हुनेमा उनले जोड दिँदै आएका थिए ।
संस्थाले मोहम्मद युनुस सहकारी पुरस्कार समेत प्रदान गर्दै आएको छ । सहकारीको सदस्य भएर जीवनस्तरमा उल्लेखनीय परिवर्तन ल्याउनेलाई सो पुरस्कार प्रदान गरिदै आएको छ ।
यसैबीच सहारा सहकारीको यही असोज मसान्त सम्मको प्रतिवेदन अनुसार सदस्य संख्या एक लाख ५७ हजार ९२० पुगेको छ । कूल बचत एघार अर्ब ३८ करोड ५१ लाख १ हजार ८१४ र शेयर पूँजी एक अर्ब ६५ करोड ५७ लाख ४५ हजार ९०० रहेको छ ।
Discussion about this post