झापा, १२ कात्तिक । चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैंमा ६९ लाख ६० हजार मूल्यको खसीबोका विक्री गरेको छ ।
सहाराबाट कृषि कर्जा लिएर व्याबसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका कृषकबाट ती खसीबोका नगदै किनेर उपभोक्ताहरुलाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए ।
किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाई छ ।
उनका अनुसार बिगत वर्षमा पनि सहारा नेपालले आफ्ना सदस्य कृषकको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपाली पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौँँसम्म लगेर बिक्री गरिएको थियो ।
सहारा नेपालको कृषि युनिटका प्रमुख डा.कमलेश्वर भाटले यसपालीको दशैंमा औसत ३० केजीका ४०० वटा खसीबोका बिक्री भएको जानकारी दिए । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसानहरु चाडका बेला लाभान्वित भएका थिए ।
झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रति केजी ५८० रुपैयाँमा बिक्री गरिएको डा.भाटले बताए ।
‘हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौं’, डा.भाटले भने –‘कृषकहरुले उत्पादन गरेका खसीबोका बजारिकरणमा पनि प्रत्यक्ष रुपमा सघाउँछौं । उनीहरुका खसीबोका किनेर बिक्री गरिदिन्छौं ।’
संस्थाले ६ वटा जिल्लामा चार सयको संख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उनले बताए । बाख्रापालक कृषक र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिदा दुबै पक्षलाई फाइदा भइरहेको र बजारिकरणको कुनै समस्या नभएको उनको भनाई छ ।
संस्थाले यसपाली दशैंअघि जुम्लाबाट स्याउ किनेर आफ्ना सदस्यहरुलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउ लगायत विभिन्न उत्पादनको बजारिकरण र बिउविरुवा उत्पादनमा संस्थाले सहयोग पुर्याउने नीति लिएको निर्देशक खतिवडा बताए ।
बाख्रापालक कृषकहरुलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित दश जना कर्मचारी परिचालन गर्दै आएको छ ।
एक लाख ५७ हजार ९२० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १३० जना ऋणी सदस्य रहेका छन् ।
Discussion about this post