
मेचीनगर, १५ कात्तिक । ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा आर्थिक अभाव भएको छ ।
गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका मगरलाई यहि कात्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका वरिष्ठ सुपरभाइजर दिपेश भट्टराईले मगरको हालसम्मको उपचारको बक्यौता पाँच लाखभन्दा धेरै भइसकेको बताए । हाल मगर आइसीयु कक्षमा छन् ।
उनको टाउकाको शल्यक्रिया भइसकेको र पैसा खोजेर ल्याउने पहल भइरहेको छ भनेर आफन्तले भनेको आधारमा उधारोमा पनि उपचारमा कुनै कमी आउन नदिएको भट्टराईले बताए ।
मलेसियामा रोजगार गरेर गतवर्ष फर्किदा मगर विरामी नै थिए । उनको लिभरमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो । घर चलाउनै आर्थिक संकट परेपछि उनकी पत्नी लक्ष्मी थापा मगर दुई महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् । उनीहरुको दुई सन्तान छन् । छोरी ९ वर्ष र छोरा ७ वर्षका छन् ।
उनका वुवा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । उनी शारीरिक रुपमा अशक्त बनेका छन् । आमा पनि विरामी नै छिन् ।
‘घरको आर्थिक अवस्था ज्यादै दयनीय छ,’ मगरका भिनाजु थमबहादुर तामाङ भन्छन–‘अहिलेसम्म ऋणपान र आफन्त गुहारेर केही रकम अस्पतालमा डिपोजिट गरेका छौं । अस्पताल व्यवस्थापनले अरु पैसा जम्मा नगरी उपचारअघि बढाउन गाह्रो हुन्छ, छिटो पैसा खोजेर ल्याउनु पर्यो भनिरहेका छन् । हामीसँग पैसा निकाल्ने अब कुनै उपाय बाँकी छैन ।’
उनका वुवा राजेन्द्र र र आमा दिलमाया थापाले अस्पताल परिसरमै आज दिउँसो पत्रकारहरुसँगको भेटमा उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक अपिल गरेका छन् । आमा दिलमायाले भनिन् –‘बुढेशकालको सहारा बन्ला भनेको छोरा आफै थला पर्यो, बिरामी पर्यो । दया गरेर सहयोग गरिदिए उसको प्राण बच्ने थियो ।’
मेचीनगर–१० का डेभिड शिवाकोटीले मगरलाई बचाउन गाउँमा चन्दा संकलन अभियान सुरु गरिएको बताए । ज्यालादारी काम गर्दै आएका मगरको परिवारको अन्य आयस्रोत नभएकाले सबैसँग आर्थिक सहयोगका लागि अपिल समेत गरिएको उनले बताए ।
संजोग बचाउ अभियान मार्फत उपचार सहयोग जुटाउन मगरका भिनाजु तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । इच्छुक दाताहरुले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने स्थानीय साङ्गे शेर्पाले बताए ।
उनका भिनाजु तामाङको ग्लोबल आइएमई बैंक धुलाबारी शाखाको खाता नं. ०२३०७०१०१२४९५९ यतिमा सहयोग रकम जम्मा गर्न सकिनेछ ।
Discussion about this post