मेचीनगर, ८ मंसिर । मेचीनगर–११ धाइजन स्थित लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस वर्ष पनि तीन जना उत्कृष्ट प्रतिभालाई पुरस्कृतसहित सम्मान गर्ने भएको छ ।
आज प्रतिष्ठानले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यहि मंसिर २० गते हुने ५ औं वार्षिक साधारण सभामा स्वास्थ्य क्षेत्रका उत्कृष्ट राष्ट्रिय प्रतिभा धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानका प्रा.डा.सञ्जिव शर्मा, कृषि क्षेत्रमा उत्कृष्ट प्रतिभा भएका मेचीनगर–५, बाहुनडाँगीका बद्रीकुमार राउत र उत्कृष्ट गृहिणीका रूपमा बिर्तामोड–४ की हिमा लुईटेल पाठकलाई पुरस्कृतसहित सम्मान गर्ने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक डम्बरबहादुर देउजाले जानकारी गराए ।
प्रा.डा.सञ्जिव शर्माको मुल घर मेचीनगर–१४ स्थित दुहागडी हो । पुरस्कृत तीनै जनालाई जनहि ३१ हजारका दरले पुरस्कार वितरण गरिने उनले बताए ।
२०७६ मंसिर २० गते स्थापना भएको प्रतिष्ठानको यो पाँचौँ वार्षिक साभारण सभा । प्रतिष्ठानले १० लाखको अक्षयकोष खडा गरेर सो व्याजबाट वर्षेनी ३ जना उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरिरहेको अध्यक्ष हरिचरण बानियाँले बताए ।
यहि मंसिर २० गते हुने कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा सम्मान प्रदान गरिने उनले बताए ।
सो कार्यक्रमको विशिष्ठ अतिथिहरुमा झापा क्षेत्र नमबर १ का सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेशका सांसद गोपाल तामाङ, सबिना बजगाई, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी रहेका छन् ।
प्रतिष्ठानले गतवर्ष उत्कृष्ट राष्ट्रिय प्रतिभाका रुपमा मेमोरी किङ भनेर चिनिएका भद्रपुरका अर्पण शर्मालाई सम्मान गरेको थियो ।
यसैबीच कार्यक्रममा एक जोडीज्येष्ठ नागरिकलाई पनि नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष बानियाँले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानका सदस्य भाष्कर शर्मा, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण प्रष्ठिानका सदस्य एवम् पत्रकार मोहन काजीले गरेका थिए ।
Discussion about this post