मेचीनगर, ८ मंसिर । तीन महिनाअघि मलेशियामा भेटिएका काँकरभिट्टाका गोपाल घिमिरे आज नेपाल आइपुगेका छन् ।
घिमिरे मलेशियाबाट २४ तारिखको जहाजदेखि नेपाल आएका हुन् । उनी शुक्रबार काठमाडौँ आइपुगे ।
आज साँझ झापाबाट विराटनगर हुँदै काठमाडौँ पुगेका नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले गोपाललाई भेटेका छन् । गोपाल शनिबार घर आइपुग्नेछन् ।
उनलाई मलेशियादेखि नेपालसम्म ल्याउन पहल गरिदिने सांसद शर्माले हुन् । सांसद शर्माले करिव ७० हजार नगद सहयोग गरेका थिए । इलिगलरुपमा काम गरिरहेको घिमिरेको सबै डकुमेन्ट मिलाउने काम पनि शर्मा मार्फत नेपाली जनसम्पर्क समिति मलेशियाले गरेको थियो ।
जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीका अनुसार गोपालको टिकट र जरिवना गरेर नेपाली एक लाख ४ हजार १६० रुपैयाँ लागेको छ । गोपालले ३३ हजार ६ सय भुक्तानी गरेका थिए भने बाँकी ७० हजार ५६० रुपैयाँ शर्मामार्फत जनसम्पर्क समितिले उपलब्ध गराएको पंगेनीले जानकारी दिए ।
६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे गत भदौमा मलेसियामा काम गरिरहेको पत्ता लागेको थियो ।
३७ वर्षीय गोपाल घिमिरे मलेशियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा इलिगलरुपमा काम गरिरहेका थिए । उनी मलेशिया गएको १६ वर्ष भएको थियो । परिवारको सम्पर्कमा रहेका घिमिरे ६ वर्षदेखि भने एकाएक सम्पर्कविहिन भएका थिए ।
छोरा एकाएक वेपत्ता भएपछि उनकी आमा सानी घिमिरे छोरा खोजिदिन भन्दै विभिन्न संघ–संस्था र व्यक्तिहरुको घर र कार्यालयमा भौतारिरहेकी थिइन् । गोपालकी आमा सानीले मलाई (अर्जुन कार्की)लाई भेटेर छोरा खोजिदिन अनुरोध गरेकी थिइन् ।
पत्रकार सम्मेलनमा उनकी आमाले ६ वर्षदेखि सम्पर्कविहिन छोरा खोजिदिन मिडियामा रुदैँ रुदैँ अनुरोध गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट र मेचीनगर अनलाइन डटकममा समाचार आएपछि गोपाल घिमिरे भेटिएका थिए ।
पोष्ट गरिएको उक्त भिडियो महामन्त्री शर्मामार्फत मलेशियाको जनसम्पर्क समितिले मलेशियाको एम्वेसीको पेजमा पोष्ट गरेको थियो ।
सोहि भिडियो हेरेर मलेशियामा काम गर्ने पोखराका गोपालको साथि प्रताप थापाले मलाई फोन गरेर गोपाल मलेशियामा इलिगलरुपमा काम गरिरहेको पुष्टि गरेका थिए ।
Discussion about this post