मेचीनगर, २० मंसिर । मेचीनगर नगरपालिकाले सडकको जग्गा अतिक्रमण गरी बनाइएका टहराहरु हटाउन जेसीवी (डोजर) लगाउन थालेको छ ।
मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन थालेको हो ।
बुधबार नगरपालिकाले काँकरभिट्टादेखि कालीखोला सम्मको सडक अतिक्रमण गरी बनाइएका टहराहरु डोजरको प्रयोग गरेर नगर प्रहरीसहितको टोलीले हटाएको छ ।
सडक अतिक्रकण गरी बनाइएको घर टहरा खाली गराउने नगरको निर्णय अनुसार नगरपालिकाको डोजर प्रयोग गरेर धमाधम घर–टहरा भत्काउन थालिएको प्यारीभिटा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।
नगरपालिकाले यसअघि सडक खाली गराउन सूचना समेत निकालेको थियो । अहिले सोहि सूचना अनुरुप सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन थालिएको छ । कसैले अटेर गरे कानुनी कारवाही अगाडी बढाइने कार्यालयको भनाई छ ।
सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियानमा प्यारीभिटा बसपार्क व्यवस्थापन समिति अध्यक्ष घिमिरे, सदस्य सचिव माधव अर्याल, सदस्य सुरेन्द्र बुढाथोकी, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नगर प्रहरी, ट्राफिक प्रहरी, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
झापाको काँकरभिट्टादेखि लौकहीसम्म ९५ किलोमिटरको सडकलाई एशियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले पनि मेचीनगरमा पर्ने सडकको दायाँबायाँ अतिक्रण गरिएका घर–टहरा भत्काउन थालिएको छ ।
Discussion about this post