धुलाबारी, २४ मंसिर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक सडक नाटक प्रस्तुत गरेको छ ।
नगरपालिकाको आयोजना तथा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुको प्रस्तुतिमा धुलाबारी मोडमा लैंगिक हिंसा विरुद्ध जनचेतनामुलक सडक नाटक प्रस्तुत गरेको हो ।
नगरपालिकाले यहि मंसिर ११ गतेदेखि नै विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको अभियान सफल पार्न लागि परिरहेको छ ।
नगरपालिकाले काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघ–संस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी लगायतको उल्लेख्य सहभागितामा विभिन्न नारा, प्लेकार्ड सहित र्यालि पश्चात् कोण सभा गरेर अभियान सुरु गरेको थियो ।
नगरपालिकाले मंसिर १४ गते लैंगिक हिंसा विरुद्ध मेचीनगरभरिका सामुदायिक माविका छात्राहरुबीच लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता सम्बन्धी वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको थियो ।
त्यस्तै लैंगिक हिंसा विरूद्ध अभिमूखिकरण, सचेतना मुलक कार्यक्रम, विद्यार्थी, महिला लगायत विभिन्न लक्षित वर्गहरुसँग विभिन्न कार्यक्रमहरु गरिएको मेचीनगर महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले बताइन् ।
नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवम् कार्यापालिका सदस्य हृदय राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
Discussion about this post