काँकरभिट्टा, ३० मंसिर । मेचीनगर नगरपालिकाले सबै वडामा जग्गाको निस्सा वितरण कार्य सम्पन्न गरेको छ ।
मेचीनगरले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरेको थियो ।
मेचीनगरले वडागत रुपमा मंसिर २५ देखि २९ गतेसम्म अभियान नै सञ्चालन गरेर जग्गाको निस्सा वितरण कार्य सुरु गरेका थियो ।
सोमबार मेचीनगर–१, २, ३ र ४ नम्बर वडाबाट सुरु भएको अभियान वडा नम्बर १३, १४ हुँदै १५ वडामा नै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्य सञ्चालन भएको थियो ।
भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थीत बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम नगरपालिकाबाट संकलित विवरणको निस्सा वितरण गरिएको मेयर गोपालचन्द्र बुढाथोकीले बताए ।
उनका अनुसार हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको छ । अव चाँडै दर्ता भएका फायलहरु प्रक्रिया पुर्याएर सम्बन्धित निकायमा पठाउने र निस्सा पाउन योग्य व्यक्तिहरुलाई जग्गाको धनीपूर्जा उपलब्ध गराउने कार्यमा आफुहरु लागि पर्ने बुढाथोकीको भनाई छ ।
प्रक्रियागत रुपमा दर्ता भएका निवेदनका आधारमा अहिले मेचीनगर क्षेत्रका अव्यवस्थित बसोबासी तीन हजार ३०, भूमिहिन सुकुम्बासी एक हजार ८१४ र भूमिहिन दलित ३०७ गरी पाँच हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् ।
Discussion about this post