बिर्तामोड, २ पुस । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक हिसावले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउन यात्रा प्रभावकारी रहेको बताएका छन् ।
आज दिउँसो बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले जनतालाई उत्साह जगाउन समेत यात्रा प्रभावकारी रहेको जनसहभागिताले पुष्टि गरेको दावी छ ।
संकल्प यात्रा कसैको विरुद्धमा नभएको प्रष्ट पार्दै उनले झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको बताए ।
‘निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासो सम्बोधन यात्राले गरेको छ । पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको छ’, उनले भने । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको छ ।
‘मध्यपहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाईसराई लगायत सम्भाब्यता अध्ययनका निम्ति पार्टीको ठुलो सफलता हो’, नेता पोखरेलले भने–‘चाँडै काठमाडौँमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिने छ ।’
‘संकल्प यात्रा, जनजागरणको यात्रा हो । बर्तमान सरकारका गलत कार्यको खबरदारी समेत भएको छ’, उनले भने ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारले गरेका थिए ।
Discussion about this post