धुलाबारी, ३ पुस । मेचीनगरमा आयोजित एक कार्यक्रममा व्यवसायीलाई उत्पादन गरिएका खान योग्य वस्तुहरु बजारमा पठाउँदा त्यसको प्याकेजिङ, लेवलिङ, व्याच नम्बर, मिति, मुल्य र गुणस्तर स्पष्ट खुलाएर बिक्री गर्न सुझाव दिइएको छ ।
आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश विराटनगरले आयोजना गरेको ‘स्वादेशी उत्पादन अभियान : उद्योगीको लेवलिङ, प्याकेजिङ तथा सम्मान’ व्यवस्थापन सम्बन्धी तालिममा व्यवसायीलाई उक्त सुझाव दिइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले खाद्य स्वच्छताको परिचय, महत्व र अवस्थाका विषयमा, खाद्य ऐन नियम बारे जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत सुवास चन्द्र ओस्तीले र उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशीका अधिकृत चुडामणि न्यौपानेले उपभोक्ता अधिकार तथा ट्रेडमार्क सम्बन्धी प्रोजेक्टर मार्फत प्रस्तुति दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बराल, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी ईश्वरराज नेपाल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, व्यवसायी यामनाथ काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा डेरी उद्योग, मासु, चिया, मसला, अचार, मिठाई, जुत्ता, बरफ, आईसक्रिम, पोल्ट्री फार्म लगायत पसल तथा उद्योगी व्यवसायीहरुले ल्याव टेष्ट, प्याकेजिङ, लेवलिङ, नयाँ दर्ता, नविकरण, ट्रेडमार्क लगायतका विषयमा चासो राखेका थिए ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत उद्योग तथा सहकारी विकास महाशाखाकी प्रमुख लक्ष्मी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटाले र सञ्चालन मन्त्रालयका अधिकृत चुडामणि न्यौपानेले गरेका थिए ।
Discussion about this post