मेचीनगर, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले देश बनाउने भनेको बाटो, पुल निर्माण गरेर विकास गर्नु मात्र होइन भावानात्मक र पारिवारिक सम्बन्धलाई समेत अघि बढाएर लानु पर्ने बताएका छन् ।
आज मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनमा आयोजित बाहुनडाँगी जेसीजको पद हस्तान्तरण कार्यक्रममा सांसद शर्माले यस्तो कुरा बताएका हुन् ।
‘राजनीतिक दलहरुका कारण समाज खण्डित भएको अवस्था छ’, शर्माले भने–‘समाज रुपान्तरण गर्न जेसीजको महत्वपूर्ण भूमिका हुन्छ । त्यो काम बाहुनडाँगी जेसीजले गर्नुपर्छ ।’
समाजलाई खण्डित हुनबाट बचाउन र परिवारसँगको सम्बन्ध प्रगाढ बनाउन जेसिजले अहम भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास रहेको उनको भनाई छ । सांसद शर्माले जेसीजको विधि र विधानलाई अनुसरण गरेर राजनीतिमा आउन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सांसद शर्मा, मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिम कुवँर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, बाहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा वर्ष २०२३ का अध्यक्ष केवल निरौलाले वर्ष २०२४ का नवनिर्वाचित अध्यक्ष देबु बानियाँलाई अध्यक्षको चेन हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले वर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा केदार सुनुवार र सुष्मा मिश्र, उपाध्यक्षमा पवन बराईली, सदेश पौडेल, थेसिस रुचाल र किरण गौतम, महासचिवमा सुस्मिता खतिवडा भण्डारी, कानूनी सल्लाहकारमा नित्यानन्द चम्लागाईँ तथा कोषाध्यक्षमा न्यूटन कार्की चयन भइसकेका छन् ।
त्यसैगरी कार्यक्रम संयोजकमा सामुल राय, तालिम संयोजकमा विशाल तामाङ तथा जनसम्पर्क अधिकारीमा चित्रबहादुर श्रेष्ठ मनोनित भएका छन् ।
कार्यक्रममा अध्यक्ष बानियाँले आफ्नो कार्यकालमा विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।
कार्यक्रमको उद्घाटन शत्रको सञ्चालन वर्ष २०२३ का महासचिव नित्यानन्द चम्लगाई, निर्वाचन आयुक्त दिपक बरालले र वर्ष २०२४ की महासचिव सुस्मा खतिवडाले गरेकी थिइन् ।
Discussion about this post