मेचीनगर, २७ पुस । प्रदेश नामाकरणमा पहिचानको विरुद्धमा हस्ताक्षर गरेका कारण कोशी प्रदेशका सांसद गोपाल तामाङलाई आदिवासी जनजातिको मेचीनगर अधिवेशनमा वहिस्कार गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरको पाँचौँ अधिवेशन शनिबार काँकरभिट्टामा वृहत तामझामका साथ हुँदैछ । उक्त अधिवेशनमा काँकरभिट्टा निवासी सांसद तामाङलाई कार्यक्रममा निम्तो छैन ।
उनलाई पहिचानवादी समूहले वहिस्कार गरेको आदिवासी जनजाति मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले जानकारी दिए ।
पहिचान विरोधी भएर प्रदेश नामाकरणमा सहभागी भएकाले प्रदेश सांसद तामाङलाई बहिस्कार गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष केवलराम राईले प्रदेश नामाकरणमा सांसद तामाङले पहिचानको विरुद्धमा हस्ताक्षर गर्नु भएकाले उहाँलाई यस कार्यक्रममा सहभागी नगराउँने निर्णय गरेको बताए । तामाङ झापा–१ प्रदेशसभा ‘क’ बाट निर्वाचित सांसद हुन् ।
अधिवेशनमा प्रमुख अतिथि दक्षीण एसियाबाट संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गरिसकेका विद्वान व्यक्तित्व शंकर लिम्बुले आदिवासी जनजातिको अधिकार र पहिचानको विषयलाई स्पष्ट पार्ने बताइएको छ ।
काँकरभिट्टा स्थित मेची सामुदायिक भवनमा आयोजना हुने अधिवेशनमा अग्रजहरुको सम्मान, साँस्कृतिक कार्यक्रम र र्यालीको समेत आयोजना गरिएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।
अधिवेशनमा १९ वटा जातिय संगठनका प्रतिनिधि, पर्यवेक्षकसहित एक हजार जनाको सहभागिता रहने जनाइएको छ ।
Discussion about this post