मेचीनगर, २४ माघ । मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर कामअघि बढाइरहेको छ ।
१५ वटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रमलाई तिव्रता दिइरहेको मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।
मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला लक्षित कार्यक्रम प्रभावकारी बन्दै गइरहेको उनको भनाई छ ।
‘यस आर्थिक बर्षको लागि पहिलो चरणमा ७ लाख बजेट छुट्याइएर कार्यक्रमअघि बढाइएको थियो’, उप्रेतीले भनिन्–‘त्यसका लागि थप १५ लाख बजेट आवश्यक छ । उक्त रकम नगरपालिकाले उपलब्ध गराउने छ् ।’
अघिल्लो आर्थिक बर्ष २०७९÷०८० मा ११२ जनाले सेवा लिएका थिए । यो आर्थिक बर्ष २०८०÷०८१ को ६ महिनामा मात्रै सुत्केरी पोषण कार्यक्रम अन्तर्गत १६४ जनाले सेवा लिएको निमित्त स्वास्थ्य शाखा प्रमुख रामप्रसाद अधिकारीले बताए ।
उनका अनुसार यस आर्थिक बर्षको पुस मसान्त सम्ममा सबैभन्दा बढी मेचीनगर–३ का ३० जना सुत्केरी महिलाले सेवा लिएका छन् ।
दोस्रोमा ९ नम्बर वडा रहेको छ । उक्त वडामा १९ जनाले सेवा लिएका छन् । त्यस्तै नगरको सबैभन्दा कम मेचीनगर–१, २ र ४ नम्बर वडामा समान २÷२ जना सुत्केरी महिलाले सेवा लिएको उनको भनाई छ ।
नगरपालिकाले मापदण्ड नै बनाएर सुत्केरी महिलाहरुलाई १ केजी घ्यु, मह र मिक्स गेडागुडी गरी २ हजार मुल्य बराबरको पोषण सामाग्री वितरण गरिरहेको छ ।
मापदण्ड अनुसार सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सेवा लिनका लागि अनिवार्य अस्पताल मै सुत्केरी हुनुपर्ने छ । त्यस्तै बच्चाको जन्मदर्ता अनिवार्य रहेको छ ।
Discussion about this post