मेचीनगर, २४ फागुन । काँकरभिट्टाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले आयोजना गरिएको तीनदिने अगरवती तालिम आज सम्पन्न भएको छ ।
पूर्वीद्वार महिला समूहले आयोजना गरेको अगरवती तालिममा मेचीनगर नगरपालिका–६ को आर्थिक सहयोग रहेको थियो ।
यही फागुन २२ गतेदेखि सञ्चालन भएको उक्त तालिम विहीबार सम्पन्न भएको हो ।
तालिममा काँकभिट्टाका ५२ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरुलाई मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष एवम् मेचीनगर–१२ स्थित जागृत सीप केन्द्रकी सञ्चालक निर्मला चौहान भण्डारीले प्रशिक्षण दिएकी थिइन् ।
सहभागी भएका महिलाहरुले अगरवती बनाएर मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ समक्ष प्रस्तुत गरेका थिए । सहभागीहरुलाई प्रमुख अतिथि तामाङले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वडाध्यक्ष तामाङले महिलाहरुले अगरवती बनाउने तालिम गरेपछि आफनै अगरवती उद्योग स्थापना गरेर घर खर्च चलाउन सक्ने बताए ।
‘हाम्रो समाजमा घरको जुनसुकै खर्च गर्न पुरुषसँगै पैसा माग्नु पर्ने अवस्था छ’, तामाङले भने–‘त्यसैले महिलाहरु पनि आत्मनिर्भर बन्नु पर्छ ।’ सोही अवसरमा संस्थाले नारी दिवसको पूर्व सन्ध्यामा स्थानीय २ जना ज्येष्ठ आमाहरू सावित्रा थापा र चन्द्रमाया पनेरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमूख अतिथि वडाध्यक्ष तामाङ, वडा सदस्यद्वय ध्रुब राई, सीमा रसाइली, प्रशिक्षक निर्मला चौहान भण्डारी, प्रशिक्षार्थी रीना खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पूर्वीद्वार महिला समूहकी मेचीनगर–६ की अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य अम्बिका पनेरुले र सञ्चालन सचिव उर्मिला दुलालले गरेकी थिइन् ।
Discussion about this post