मेचीनगर, २ चैत । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको पहलमा झापाको काँकरभिट्टा र टिमाई शान्तिनगर खानेपानी आयोजनाका लागि बजेट आएको छ ।
काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि करिव ३१ करोड ८६ लाख रुपैयाँ बजेट आउने निश्चित भएको छ ।
झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले आज प्रेस नोट जारी गरेको हो । प्रेस नोटका अनुसार टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि १७ करोड ८९ लाख रुपैयाँ र काँकरभिट्टा खानेपानी आयोजनाका लागि १३ करोड ९७ लाख रुपैयाँ बजेट अर्थमन्त्रालयले ग्यारेन्टी गरेको छ ।
ती दुबै खानेपानी परियोजनाको ठेक्का प्रक्रिया यही आर्थिक वर्ष २०८०÷०८१ को चैत मसान्त सम्ममा भइसक्ने र तीन वर्षभित्रमा काम सम्पन्न हुने शर्माको सचिवालयले जनाएको छ ।
यही फागुन २१ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट ती दुबै योजनाका लागि अर्थमन्त्रीले बजेट सुनिश्चित सहमति प्रदान गरेको छ ।
बहुवर्षीय आयोजना भएकाले यसवर्ष सुरु भएर तीन वर्षभित्रमा कार्य सम्पन्न हुने गरी बजेट विनियोजन हुने छ ।
सांसद् शर्माले धुलाबारी, बाहुनडाँगी, ज्यामिरगढी र चन्द्रगढी लगायतका खानेपानी योजनामा बजेट उपलब्ध गराउन पहल गरिरहेको सचिवालयले जनाएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सहलगानी विभागका कोशी प्रमुख सुरतलाल चौधरीले केन्द्रबाट श्रोत सुनिश्चितताको पत्र आइसकेको बताएका छन् । उनले उक्त आयोजनाहरुको स्थलगत अनुगमन समेत गरिसकेका छन् ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले सांसद शर्मा, मेयर गोपालचन्द्र बुढाथोकी लगायत सबै दलका नेता र सम्बन्धित मन्त्रालयका कर्मचारीहरुको पहलमा काँकरभिट्टा खानेपानीमा आयोजना ल्याउन सफल भएको बताए ।
‘हामीले ६ महिनामा भौतिक पूर्वाधार लगायतका प्रक्रियाहरु पूरा गरेका थियौँ’, अध्यक्ष पराजुलीले भने–‘अरुको ३ वर्ष अगाडिदेखिको फायल थन्किएको छ । अझै पनि काम हुन सकेन । सबैको सहयोगमा काँकरभिट्टा खानेपानीले आयोजना ल्याउन सफल भएको छ ।’
Discussion about this post