झापा, १८ चैत । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा दश अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको माग दावी गर्दै मुद्दा दायर गरेको छ ।
विभागले यस कम्पनीविरुद्ध पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिवानाको दावी गर्दै मुद्दा दायर गरेको हो । कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय माग दावी गरी अभियोग दायर गरिएको यो पहिलोपटक हो ।
यो कम्पनीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो ।
अमेरिकी लगानी रहेको यो कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क रहेको विभागले जनाएको छ । आफूमा निहीत रहेको शेयर स्वामित्व परिवर्तन र सोबाट कम्पनीको नियन्त्रण परिवर्तन भएको विषय सम्बन्धित निकायमा जानकारी नदिई सो बमोजिम सिर्जना हुने कर दायित्व पूरा नगरेको विभागको दावी छ ।
यसका साथै, नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको पनि विभागको आरोप छ । सोही कारण साजयसहित विगो र जरिवानासहित साढे १० अर्ब रुपैयाँ बराबरको माग दावी रहेको विभागले जनाएको छ ।
Discussion about this post