बाहुनडाँगी, २ जेठ । बाहुनडाँगी जेसीजको आयोजनामा लागूऔषध दुव्र्यशनी विरुद्धको सप्ताह बुधवारबाट सुरु भएको छ ।
‘बाहुनडाँगी जेसीजको अभियान ः लागूऔषधरहित समाजको पहिचान’ भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम सुरु भएको हो ।
मेचीनगर–४ को सरस्वती माविबाट सुरु भएको यो अभियान सात दिनमा साबिक बाहुनडाँगी हालको मेचीनगर–१, २ ३ र ४ वडाका १५ वटा निजी तथा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ ।
पछिल्लो समय विद्यालय तहबाट लागूऔषध दुव्र्यशनी प्रयोगकर्ता बढ्दै गएको र यसलाई न्युनिकरण गर्न हरेक विद्यालयमा पुग्ने गरि अभियान सञ्चान गरिएको हो ।
सरस्वती मावि, पशुपति मावि, पवित्र मावि, जनता मावि, भानु मावि, मेचीजनसाधारण मावि र बलभद्र आविमा सञ्चालन हुने अभियानमा अन्य विद्यालयहरुलाई सहभागी गराइने छ ।
अभियानको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरे । सरस्वती मावि र विद्या विकास एकाडेमीका ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अभियानमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुनडाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन् ।
बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा वडाध्यक्ष कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नुरकुमार राई, पवन बराइली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेल, सशस्त्र प्रहरी बल बाहुनडाँगीका सशस्त्र प्रहरी निरीक्षक धुब्र भट्ट, बाहुनडाँगी प्रहरी चौकीका प्रमुख उमेश श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठ, बाहुनडाँगी जेसीजका संस्थापक उपाध्यक्ष निरज पोखरेल लगायतको सहभागिता रहेको थियो ।
तालिम संयोजक रीना दर्जीले स्वागत गरेको कार्यक्रममा आस्थापाठ विवेक तामाङ र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् । अभियान अन्तर्गत विहीबार पवित्र मावि मेचीनगर–१ मा सञ्चालन हुने कार्यकारीणी उपाध्यक्ष सुष्मा मिश्रले जानकारी दिइन् ।
Discussion about this post