झापा, ९ जेठ । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं स्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको थियो ।
तर अमेरिकी दूतावासका अधिकारीले भिसा दिन नसकिने बताएका छन् । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने अध्यक्ष चन्दले बताए । उनले भने, ‘अब खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पहल गर्नुपर्छ । किनकि यो राष्ट्रकै विषय हो ।’
Discussion about this post