मेचीनगर, ८ जेठ । पछिल्लो समय लोप हुँदै गएको रैथाने वालीका रुपमा रहेकोे सीमल तरूलको खेतीलाई जर्गेना गर्ने उदेश्यले मेचीनगरले कृषकहरुसँग छलफल गरेको छ ।
मेचीनगर क्षेत्रमा कुनैबेला राम्रैसँग फस्टाएको सीमल तरूलको खेती अहिले लोप हुने अवस्थामा पुगेको छ ।
यसको संरक्षण र प्रवर्द्धन गर्न मेचीनगर नगरपालिकाले दिर्घकालिन रूपमा योजना बनाएरअघि बढ्न सुरू गरिसकेको मेयर गोपालचन्द्र बुढाथोकको भनाई छ । उनले सीमल तरूल खेती प्रवर्द्धन गर्न पहिलो चरणमा विज्ञ, कृषक र सरोकारवाला निकायसँग आज प्रारम्भिक छलफल गरेको हो ।
यस क्षेत्रमा राम्रो उत्पादनको सम्भावना रहेको सीमल तरूललाई उत्पादनमा जोड दिदैँ व्यवसायीकरण गर्न सम्भव रहेको विज्ञहरु बद्री ओझा र वासुदेव शर्माले बताए ।
आज नगरपालिकाको सभा हलमा सीमल तरूल खेती प्रवर्द्धन गर्न तथा तरूलको बिषयमा बिशेष जानकारी गराउने उदेश्यले आयोजना गरेको विज्ञसहितको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मेयर बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित मेचीनगर क्षेत्रमा रहेका कृषि सहकारीका पदाधिकारी, सहकारी अभियान्ता, अग्रज कृषक लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाले यसअघि दुई पटक बाहुनडाँगीमा तरूल महोत्सव समेत गरिसकेको छ । कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले किसानलाई तोरी, गहुँ, मकै, धान लगायतको बालीमा चाहिने आवश्यक सामाग्री अनुदान र सहुलियतमा प्रदान गर्दै आएको छ ।
Discussion about this post