धुलाबारी, २४ जेठ । मेचीनगर–९ को उपभोक्ता महिला कृषि सहकारी संस्थाको आयोजनामा दुई दिवसीय महिलाहरुलाई आत्मरक्षा, स्वास्थ्य, बालबालिकालाई व्याड टच र गुड टच विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।
वडा नम्बर ९ स्थित कविशिरोमणि माविको सभाहलमा आयोजित तालिम आज र भोलि सञ्चालन हुँदैछ । मेचीनगर–९ का महिलाहरुलाई लक्षित गरी उक्त तालिम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् । उनले महिलाहरु सक्षम बन्नुपर्नेमा जोड दिइन् । तालिममा प्रशिक्षक अर्जुन लम्साल र साइकिरण लम्सालले सहजीकरण गरिरहेका छन् । महिलाहरु आफू सबल बन्न स्वास्थ्य राम्रो हुनु पर्ने प्रशिक्षक लम्सालले बताए ।
तालिममा महिलाले आफ्नो रक्षा कसरी गर्ने, आफ्ना बालबालिकालाई कस्तो संस्कार सिकाउने, खानपानमा कसरी ध्यान दिने लगायतका विषयवस्तुमा छलफल केन्द्रित गरिएको छ ।
तालिममा ५० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा मेचीनगर–९ का वडा सदस्य धनकुमार श्रेष्ठ, सुष्मा कार्की डोली लगायतको आतिथ्यता रहेको थियो । तालिम मेचीनगर नगरपालिकाको सहयोगमा सञ्चालन भएको हो ।
उपभोक्ता महिला कृषि सहकारी संस्थाकी अध्यक्ष संगीता थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत ऋण लगानी समिति संयोजक गोमा भण्डारीले र सञ्चालन सचिव चन्द्रकला खवासले गरेकी थिइन् ।
Discussion about this post