झापा, १० साउन । बरिष्ठ कर्मचारी लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् ।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् । गड्तौला आगामी भदौ १५ गते अवकाश हुनेछिन् । ५८ वर्षे उमेर हदका कारण गड्तौला अवकाशमा जानेछिन् । तर, त्यसभन्दा अघि करिब एक महिनाभन्दा बढी उनले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नेछिन् ।
असार ३१ गते बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।
Discussion about this post