।। अर्जुन कार्की ।।
इलाम, २० साउन । सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई (आरवी) ले किसानहरुले उत्पादन गरेका हरेक वस्तु सरकारले खरिद गरेर सहज बनाइदिनु पर्ने बताएका छन् ।
सूर्योदय नगरपालिका–८, छिपिटार स्थित पानोरोमा होटलको सभाहलमा शनिबार नेपाल छुर्पी व्यवसायी संघ केन्द्रीय कार्यालय मेचीनगर–१०, झापाले आयोजना गरेको ‘छुर्पीको उत्पादन तथा बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर राईले यस्तो कुरा बताएका हुन् ।
उनले किसानले उत्पादन गरेका सामाग्रीको व्यापारी वा राज्यले समयमा भुक्तानी दिनुपर्छ रोक्न नमिल्ने बताए ।
‘सूर्योदय नगरपालिकामा दुधको समस्या छैन’, राईले भने–‘काहिँ पनि दुधको हाहाकार भए सूर्योदय आएर दुध लान सक्नेछन् । दुधजन्य पदार्थबाट बनेका वस्तुहरु बाहिर पठाउँदा गुणस्तरलाई ध्यान दिनुपर्छ । नत्र गुणस्तरीय सामाग्री दिन सकिएन भने गुडवील खराव हुन्छ ।’
गाई वस्तुलाई खोरेत रोग नलागोस् भनेर २०७९ सालमा नै कार्यविधि बनाएर खोरेत रोग मुक्त नगर घोषणा पनि गरिएको उनको भनाई छ ।
उनका अनुसार २०८०÷८१ मा ८१ हजार ८७० वटा गाईलाई खोरेतको भ्याक्सिन लगाइएको छ । नगरपालिकाले लम्की र थुनिलोको पनि भ्याक्सिन लगाइसकेको बताइएको छ ।
नेपाल छुर्पी व्यवसायी संघका केन्द्रीय अध्यक्ष रेशमबहादुर पोखरेलले वर्षेनि ३ अर्व भन्दा बढीको छुर्पी विदेश निर्यात हुने जानकारी दिए । उनले ८० प्रतिशत छुर्पी अमेरिका जाने र २० प्रतिशत अन्य युरोपका देशहरुमा बिक्री हुने उनको दावी छ ।
‘युरोप र अन्य देशहरुमा छुर्पी पठाउँदा धेरै समस्या छन’, अध्यक्ष पोखरेलले भने–‘नेपालबाट जाने डकच्यु छुर्पी अमेरिकामा ८० ग्रामको ३५ डलर पर्छ । नेपालबाट अमेरिका एक केजी छुपी पठाउँदा १३ डलर मात्र पाइन्छ । अझै अहिले १२ डलरमा झारेका छन् । महिनामा २ कन्टेनर छुर्पी अमेरिका पठाइन्छ । विदेश पठाउँदा १८० दिनमा पैसा आउँछ । अमेरिका पुग्न ८० दिन लाग्छ । किसानलाई तुरुन्त पेमेन्ट गर्नुपर्छ ।’
अध्यक्ष पोखरेलले मनोराम हिमालयन हेण्डिक्राफ्ट कम्पनीबाट हिमालयन डेकच्यु मार्फत इलाम गोदकमा रहेको सेतो ट्यामी ब्राण्ड र अन्य व्यवसायीहरुबाट छुर्पी विदेश जाने गरेको छ ।
अनुराधा डेरीका सञ्चालक जगतमहतका अनुसार इलाममा २ लाख लिटर दुध उत्पादन हुने गरेको छ । त्यसमध्ये ८० हजार लिटर दुध खपत हुन्छ । ५० हजार लिटर दुधको छुर्पी, २० हजार लिटर चिज र १० हजार लिटर दुध विराटनगरको चिस्यान केन्द्रमा पठाउने गरिएको छ ।
‘पेटेन्टराइट नभएका कारण छुर्पी विदेश लान समस्या छ । खोरेत रोगको बहानामा भारत र अन्य देशले सार्टिफाई गर्दैन । हाम्रोमा खोरेत रोग छैन । सार्टिफाइ पनि गर्दैन । भारतमा यो रोग छ । तर त्यहाँ सार्टिफाइ गर्छ । भारतले पनि छुर्पी डकच्युका लागि अमेरिका लगायतका देशमा पठाउने गर्छ’, उनले भने ।
सूर्योदय–२ पशुपतिनगरका पशुपति डेरी उद्योगका सञ्चालक विमल देवानले दैनिक ५०० लिटर दुध गाउँबाट संकलन गरेर उत्पादन गरिरहेको बताए ।
प्रति लिटर ५५÷६० रुपैयाँले दुध खरिद गर्छु । उनका अनुसार ५०० लिटर दुधबाट १०० केजी छुर्पी निकाल्छु । एक महिना सुकाउँदा ३० प्रतिशत घट्छ । काठमाडौँको ग्लोवल डेरी उद्योगलाई केजीको ११०० देखि १२०० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको दावी गरे ।
सूर्योदय–८ स्थित शान्तिचोकका खेमराज अर्यालले कञ्चनजंघा डेरी उद्योग सञ्चालन गरिरहेको धेरै वर्ष भयो । चिया पनि उत्पादन गरिरहेका अर्यालले छुर्पी र घ्युमा गतवर्ष घाटा भएको बताए । उनले ए ग्रेडको छुर्पी उत्पादन गरेर बजार नपाएपछि वी ग्रेडमा झरेर बिक्री गर्नु पर्ने पीडा भोगिरहेको बताए ।
डेरी एशोशिएसन संघ कोशी प्रदेशका अध्यक्ष गंगाबहादुर खड्का, चिया व्यवसायी उदय चापागाई, रमेश तिम्सिना लगायतले छुर्पीका समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल छुर्पी व्यवसायी स.घका उपाध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले नेपालबाट निर्यात हुने छुर्पी गुणस्तरीय हुनु पर्ने बताए । गुणस्तरीय छुर्पी उत्पादन गर्न नसके निर्यात बन्द हुन सक्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले पछिल्लो समय छुर्पीको उत्पादन भारतले पनि गर्न थालेको बताए । नेपालले उत्पादन गरेका छुर्पी अमेरिका पठाइरहेका बेला भारतले गर्दा जोखिम बढेको उनको दावी छ ।
कार्यक्रममा सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले किसान, उद्योगी–व्यापारीको हक हितका लागि सधै सहजीकरण गरिरहेको बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का र मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले सहजीकरण गरेका थिए ।
नेपाल छुर्पी व्यवसायी संघका अध्यक्ष रेशमबहादुर पोखरेलको अध्यक्षता, स्वागत महासचिव ऋषिराज तिम्सिनाले र सञ्चालन मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले गरेका थिए ।
भिडियो पनि हेर्नु होला ।
Discussion about this post