झापा, २५ साउन । प्रभु बैंक बिर्तामोडका सुपरभाइजनर पदमा कार्यरत कर्मचारी श्रीमान प्रमोद सिटौला ९ दिनदेखि वेपत्ता भएकाले खोजी गरिदिन उनका परिवारले अपिल गरेका छन् ।
भद्रपुर–७ निवासी कर्मचारी वर्ष ३० का सिटौलालाई खोजी गरिदिन उनकी श्रीमती एलिसा बुढाथोकी र परिवारले विहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सरकार, पत्रकार, मानवअधिकारवादी लगायत सबैलाई आग्रह गरेका हुन् ।
श्रीमती एलिसा बुढाथोकी र आमा पवित्रादेवी सिटौलाले यही साउन १६ गते विहान ८ः३० वजे घरबाट कार्यालयसम्म पुर्याईदिने भनी अपहरण शैली अर्थात वेपत्ता बनाइएको घटनाले परिवार विछिप्त भएको बताए ।
घटना अनुसार साउन १६ गते विहान ५ः३४ वजे टिकाराम नेपाल(नेती)ले फोन गरेपछि उनका दाजु स्वागत नेपाल र तुलसी उप्रेती लगायतले प्रमोदलाई सँगै लिएर चिया खान भन्दै चन्द्रगढी चोकमा लिएर गएको परिवारको भनाई छ ।
विहानकै ७ः३० वजे चारै जना पुनःघर फर्केर केहि वेर बसी ८ः३० वजे प्रमोदलाई आफ्नै मोटरसाइकलमा कार्यालय जान्छु भन्दा पनि भरे हामी ल्याइदिहाल्छौँ सँगै जाऔँ भनेर ३४९७ नम्बरको खैरो रंगको कारमा बसाएर घरबाट उत्तरतर्फ लिएर गएको परिवारको दावी छ ।
सिटौंला परिवारले बैंकको कारोवारलाई लिएर मान्छे नै बेपत्ता बनाउने कार्य भएको भन्दै परिवारले आपत्ति जनाएको छ । सोही दिन १० बजेर १७ मिनेटमा वुहारी एलिसाको नम्वरमा फोन गर्दै नेतीले धम्कीपूर्ण शैलीमा उल्टै प्रमोद घर आयो भन्दै फोन गरेको आमा पवित्रादेवी सिटौलाको भनाई छ ।
प्रमोदलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रहरी कार्यालय झापालाई पटक पटक आग्रह गर्दा समेत प्रहरीले जाहेरी लिन नमानेको प्रमोदका मामा कृष्ण प्रसाईले बताए । यदि प्रमोदले गल्ती गरेको भए कारवाही हुनु पर्छ तर मानिसलाई विना कारण वेपत्ता पार्न नहुने प्रसाईले बताए ।
वेपत्ता पारिएका प्रमोदको खोजी गरिदिन प्रहरीसँग आग्रह गर्दा प्रहरीले निवेदन नै लिन नमान्नु खेद्जनक भएको परिवारको गुनासो छ ।
सिटौला सेवा समाजका अध्यक्ष प्रेमप्रकाश सिटौलाले कानूनी राज्यमा दिन दहाडै कुनै पनि ब्यक्ति वेपत्ता पार्नु कानूनी राज्यको धज्जी उडाएको बताए । प्रहरीले निवेदन दर्ता नगर्नु ठिक नभएको उनको भनाई छ ।
यसअघि पत्रकार टिकाराम नेतिले बिर्तामोडको प्रभु बैंकको शाखामा मुद्दति बचत गरेको आफ्नो परिवारको (मन्जुकुमारी नेपाल) एक करोड १९ लाख मध्ये २ लाख मात्र खातामा रहेको दावी गरेका छन् । १ करोड १७ लाख गायव भएको भन्दै आफ्नो पैसा फिर्ता गरिदिन माग गरेका थिए ।
Discussion about this post